CLI

अर्थमन्त्री खनालले बिमा प्राधिकरण सञ्चालक समिति सदस्य नियुक्तिमा दिएनन् चासो, नीतिगत देखि दैनिक कामकारबाही प्रभावित

काठमाडौं । अर्थ मन्त्रालयले चासो नदिदाँ नेपाल बिमा प्राधिकरणको सञ्चालक समितिले पूर्णता पाउन सकेको छैन । अर्थमन्त्री रामेश्वर खनालले अध्यक्ष र एक सदस्य नियुक्ति गरे पछि बाँकी सदस्यहरु नियुक्त गरेका छैनन् । सञ्चालक समितिले पूर्णता नपाँउदा नीतिगत देखि लिएर दैनिक कामकारबाही समेत प्रभावित बनेको प्राधिकरणका अधिकारीहरुले बताए ।

हाल प्राधिकरणको बोर्डमा अध्यक्ष र एक सदस्य मात्र छन् । ५ जना हुनु पर्ने सञ्चालक समितिमा हाल २ जना मात्र नियुक्त भएका छन् । बाँकी ३ जना कहिले नियुक्त हुने हुन् भनेर अझै टुङ्गो लागेको छैन ।

प्राधिकरणका एक अधिकारीका अनुसार अर्थ मन्त्रालयबाट सहसचिव र बिमा व्यवसायमा विशेष ज्ञान भएको २ जना सदस्य (महिलासहित) नियुक्त हुन बाँकी छ ।

गएको मंसिर १६ गतेदेखि बिमा प्राधिकरणको सञ्चालक पद रिक्त रहँदा संस्थाको केही कामकाज प्रभावित बनेको छ । सञ्चालक समिति पूर्ण नहुँदा प्राधिकरणमा दर्ता हुने उजुरीको फछ्र्योट रोकिएको छ भने नीतिगत निर्णय, नयाँ बिमालेख स्वीकृति तथा निर्देशिका जारी गर्ने प्रक्रिया समेत ठप्प भएको ती अधिकारीले बताए ।

‘नियामक निकायकै निर्णय प्रक्रिया अवरुद्ध हुँदा बिमा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरु अन्योलमा परेका छन् । हाल प्राधिकरणमा २ जना मात्र सञ्चालक कार्यरत छन् । तर नियमअनुसार कुनै पनि नीतिगत वा महत्वपूर्ण निर्णय लिन कम्तीमा ३ जना सञ्चालक अनिवार्य रुपमा हुनुपर्ने व्यवस्था छ । आवश्यक संख्या नपुगेका कारण सञ्चालक समितिले निर्णय लिन नसक्ने अवस्था सिर्जना भएको हो । यसको प्रत्यक्ष असर बिमा कम्पनीहरु, सेवाग्राही तथा समग्र बिमा बजारमा देखिन थालेको छ’, उनले भने ।

पछिल्लो ३ सातादेखि बिमा क्षत्रको नियामक निकाय समेत रहेको प्राधिकरणको सञ्चालक नियुक्ति नहँदा पनि अर्थ मन्त्रालय मौन बसेको छ । प्राधिकरणको कामकाज  ठप्प जस्तो बनेको छ । त्यसमाथि, कमर्चारी पनि आन्दोलनमा छन्। यस्तो हुँदा पनि  सरकारले यसप्रति गम्भीर चासो दिएको छैन ।

यता, प्राधिकरणका प्रवक्ता सुशील देव सुवेदीले सरकारले केही दिन भित्रै नयाँ सञ्चालक नियुक्त गर्ने तयारी गरिरहेको जानकारी दिए । यद्यपि, उनले सञ्चालक नियुक्त नहुँदैमा कामकाज ठप्प भने नभएको बताउँछन् ।

त्यस्तै, सञ्चालक समिति अपूर्ण रहँदै गर्दा प्राधिकरणका कर्मचारीहरु पनि आन्दोलनमा उत्रिएका छन् । विभिन्न पेशागत तथा संस्थागत माग अघि सार्दै कर्मचारीहरु एक सातादेखि आन्दोलनरत छन् । माग पूरा गराउन दबाब दिने उद्देश्यले उनीहरुले दैनिक एक घण्टा ‘पेन डाउन’ कार्यक्रम सञ्चालन गर्दै आएका छन् । कर्मचारी आन्दोलनका कारण सेवा प्रवाह थप प्रभावित भएको छ।

सञ्चालक समिति अपूर्ण हुनु र कर्मचारी आन्दोलन एकैसाथ चलिरहँदा बिमा प्राधिकरणको कार्यक्षमता कमजोर बन्दै गएको सरोकारवालाहरुको भनाई छ । समयमै सञ्चालक नियुक्ति र कर्मचारीका माग सम्बोधन नगरे बिमा क्षेत्रको नियमन तथा विकासमा दीर्घकालीन असर पर्न सक्ने चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार