CLI

पहिलो पटक प्रधानमन्त्री कार्की र प्रमुख तीनदलका शीर्ष नेताबीच भेटघाट

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्की र विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका नेतृत्वबीच पहिलोपल्ट भेटवार्ता भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा मंगलबार उनीहरूबीच जेनजी आन्दोलनपछि पहिलोपल्ट सामुहिक भेटवार्ता गरेका हुन् ।

राष्ट्रपति पौडेलले मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले र नवगठित नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँगको छलफलमा प्रधनमन्त्री कार्कीलाई पनि बोलाएका हुन् ।

राष्ट्रपति सचिवालयका अनुसार दिउँसो ३ बजे कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल सँगको छलफलमा कार्की पनि सहभागी भएकी हुन् ।

यसअघि प्रधानमन्त्री कार्कीले प्रमुख दलका शीर्ष नेतालाई एक्लै नभेट्ने बताउँदै आएकी थिइन् । प्रमुख दलका शीर्ष नेताले फागुन २१ को निर्वाचन लगायतमा प्रधानमन्त्रीले आफूहरूसँग कुनै छलफल नगरेको भन्दै गुनासो गर्दै आएका थिए ।

सचिवालयका अनुसार राष्ट्रपति पौडेलले निर्वाचन लगायतका विषयमा छलफलका लागि संयुक्त भेटवार्ताको वातावरण निर्माण गरेका हुन् ।

जेनजी सरकार गठन भएको तीन महिनापछि मंगलबार प्रधानमन्त्री र प्रमुख दलका नेताबिचको संवादहीनता तोडिएको छ ।

Leave Your Comment

Related News