काठमाडौं ।सिटिजन्स क्यापिटल लिमिटेड र होटल पार्क ल्याण्ड लिमिटेडबीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । डिल्लीबजार, काठमाडौंमा आयोजित एक समारोहका बीच दुवै कम्पनीले सम्झौतामा हस्ताक्षर गरेका छन्।
सम्झौतामा होटल पार्क ल्याण्ड लिमिटेडका तर्फबाट अध्यक्ष शरद कुमार पाण्डे र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार होटल पार्क ल्याण्ड लिमिटेडको सार्वजनिक निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि सिटिजन्स क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सम्हाल्नेछ ।
चितवनको सौराहामा अवस्थित होटल पार्क ल्याण्ड लिमिटेड विगत १८ वर्षदेखि सञ्चालनमा रहेको छ । हाल ३२ कट्ठा क्षेत्रफलमा फैलिएको यस होटलमा ३२ कोठा रहेका छन् । होटल सौराहा गैडाचोकदेखि करिब ३५० मिटरको दूरीमा रहेको छ ।
कम्पनीले आगामी दिनमा होटलको क्षमता विस्तार गर्ने योजना बनाएको छ । यसका लागि ४४ कट्ठा क्षेत्रफलमा १०५ कोठा निर्माण गरी होटललाई चार तारे स्तरमा स्तरोन्नति गर्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ ।

