नेपाल राष्ट्र बैङ्कले गर्यो ‘आर्थिक तथा वित्तीय स्थिति र मौद्रिक नीतिको कार्यदिशा’ विषयक अन्तरक्रिया

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले ‘आर्थिक तथा वित्तीय स्थिति र मौद्रिक नीतिको कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  । अर्थविद्, आर्थिक तथा वित्तीय क्षेत्रका सरोकारवाला संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा उक्त कार्यक्रम गरेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ  ।

कार्यक्रममा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले मुलुकमा पूर्वाधार विकासको स्थिति कमजोर रहेको उल्लेख गर्दै पूर्वाधार संरचना विस्तारको निम्ति संस्थागत क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याएका थिए  । साथै, पूर्वाधार विकासमा वैदेशिक लगानी परिचालनका निम्ति नीतिगत र संरचनागत वातावरण सहज हुनुपर्ने विचार उनले  राखेका छन्  ।

कार्यक्रममा आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेलले आर्थिक तथा वित्तीय स्थिति र मौद्रिक नीतिको कार्यदिशालाई समेटेर कार्यपत्र प्रस्तुत गरेका थिए । समष्टिगत अर्थतन्त्रको पृष्ठभूमि, अर्थतन्त्र र वित्तीय क्षेत्रको स्थिति, विद्यमान चुनौती र त्यसलाई सम्बोधन गर्न सरकार र राष्ट्र बैंकबाट भएका नीतिगत प्रयास र दीर्घकालीन सुधारको मार्गचित्रबारे चर्चा भएको थियो  ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् अर्थविद् पृथ्वीराज लिगलले कार्यपत्रमाथि टिप्पणी गर्दै कुल राष्ट्रिय बचत बढ्दै जाँदा लगानीको अनुपात चाहिँ कमजोर रहेको विचार व्यक्त गरेका छन् । बाह्य क्षेत्रको स्थिति सबल देखिए तापनि अर्थतन्त्रका अन्य परिसूचकहरू निकै कमजोर रहेको टिप्पणी उनले गरे । अहिलेको अधिक तरलतालाई उत्पादनमूलक क्षेत्रमा लगानी नबढाउँदासम्म अर्थतन्त्र सुधार नहुने उउनको  भनाइ छ  ।

अर्थविद् डा. गोविन्द नेपालले विदेशी विनिमय सञ्चितिलाई उत्पादनमूलक र पूर्वाधार विकासको क्षेत्रमा परिचालनका निम्ति सरकारले प्रयास गर्नुपर्ने धारणा राखे । अर्थशास्त्री डा. कल्पना खनालले ब्याजदर निरन्तर घट्दै जाँदा त्यसले पुँजी पलायनलाई प्रश्रय मिल्नसक्ने उल्लेख गर्दै उपलब्ध वित्तीय स्रोतलाई पूर्वाधार परियोजनामा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याइएकी थिईन्  । यसै गरी, राष्ट्रिय आयोगका पूर्व सदस्य एवम् सह–प्राध्यापक डा. रमेशचन्द्र पौडेलले मुलुकको अर्थतन्त्र शिथिल रहेको उल्लेख गर्दै वैदेशिक लगानी परिचालन र उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका निम्ति वित्त नीति सबल हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका उच्च अधिकारी, राष्ट्र बैंकका उच्च अधिकारी, उद्योगी-व्यवसायी, बैंकर, सञ्चारकर्मी र आर्थिक तथा वित्तीय क्षेत्रसम्बद्ध अन्य निकायका प्रतिनिधिको सहभागिता थियो । प्रस्तुत कार्यपत्र र अर्थतन्त्रको समसामयिक स्थितिबारे सहभागीका तर्फबाट विभिन्न सुझाव र धारणा राखिएको थियो ।

सो अवसरमा बैंकका प्रवक्ता एवम् मानव संसाधन व्यवस्थापन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै वित्तीय क्षेत्रलाई सुदृढ र गतिशील बनाउनका निम्ति राष्ट्र बैंकबाट भइरहेका प्रयासबारे जानकारी गराएका थिए  ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार