CLI

हप्तादिनमै बढ्यो सुनको मूल्य १० हजार ९०० रुपैयाँले 

काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्यले लगातार कीर्तिमान कायम गरेर उच्च दरमा मूल्य बढेको छ । यो साता नेपाली बजारमा सुनको मूल्य १० हजार ९०० रुपैयाँले बढेको हो ।

गत शुक्रबार नेपाली बजारमा सुनको मूल्य २ लाख ५८ हजार ४०० रुपैयाँ रहेको थियो भने पुस ११ गते शुक्रबार सुनको मूल्य २ लाख ६९ हजार ३०० रुपैयाँ पुगेको हो । यो साताको पहिलो दिन आइतबार सुनको मूल्य १०० रुपैयाँले घटेर प्रतितोला २ लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, पुस ७ गते सोमबार सुनको मूल्य बढेर २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको थियो । त्यसयता हरेक दिन सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरिरहेको छ । गत पुस ८ गते मंगलबार पनि सुनको मूल्य ५ हजार ५०० रुपैयाँ बढेर २ लाख ६७ हजार २०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । त्यस्तै, पुस ९ गते बुधबार ९०० रुपैयाँले बढेर २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, पुस १० गते बिहीबार ६०० रुपैयाँले घटेर सुनको प्रतितोला २ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । फेरि पुस ११ गते शुक्रबार भने पुनः सुनको मूल्य १ हजार ८०० रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको छ । त्यसदिन बजारमा सुन प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सुन चाँदीको मूल्यले लगातार रेकर्ड कायम गर्नुमा अन्तर्राष्ट्रिय प्रभावलाई मानिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अमेरिकी मुद्रास्फीति अपेक्षाभन्दा धेरै कम हुनु, ट्यारिफका कारण सृजित मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंक फेडले जनवरीबाट ब्याजदरमा पुनः कटौतीको सङ्केत गरेका कारणले सुनको मूल्यमा वृद्धि भएको हो ।

Leave Your Comment

Related News