झापा । झापामा पछिल्लो समय कालोपत्रे सडकको विकल्पका रूपमा इन्टरलकिङ पेभर्स प्रयोग गरी निर्माण गरिएका सडकहरू गुणस्तरीय र दीर्घकालीन देखिन थालेका छन् । विशेषगरी नेपाल स्ट्यान्डर्ड (एनएस) मार्क प्राप्त इन्टरलकिङ पेभर्स प्रयोग भएका सडकहरू टिकाउ, आकर्षक र मर्मत खर्च कम हुने भएकाले स्थानीय तहको रोजाइमा परेका हुन् ।
झापाका अधिकांश स्थानीय तहले साना तथा भित्री सडक, पेटी र सार्वजनिक स्थान निर्माणमा कालोपत्रेको सट्टा इन्टरलकिङ पेभर्सलाई प्राथमिकता दिन थालेका छन् । विल्डकन इन्डष्ट्रिज प्रालि, अर्जुनधारा–७ का म्यानेजिङ डाइरेक्टर नविन गट्टानीका अनुसार कालोपत्रे सडकमा ग्यारेन्टी र वारेन्टी नहुने, बर्खायाममा पानी जम्ने र एक वर्ष नपुग्दै खाल्डाखुल्डी पर्ने समस्या देखिँदै आएको छ । यसले सडक मर्मतका नाममा बजेटको दुरुपयोग हुनुका साथै सर्वसाधारणले सास्ती भोग्नुपर्ने अवस्था सिर्जना गर्ने गरेको उनले बताए ।
उनका अनुसार इन्टरलकिङ पेभर्स प्रयोग गरी निर्माण गरिएका सडक वातावरणमैत्री, बलिया र दीर्घकालीन हुने भएकाले स्थानीय सरकार र निजी क्षेत्र दुवैको चासो बढेको छ । झापाको अर्जुनधारा–७ भाङवारीमा आठ वर्षअघि स्थापना भएको विल्डकन इन्डष्ट्रिज प्रालिले एनएस मार्क प्राप्त इन्टरलकिङ पेभर्स उत्पादन थालेसँगै झापा मात्र नभई पूर्वी नेपालका गाउँ–नगरमा सडकको स्वरूप फेरिँदै गएको छ ।
करिब ६० करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको उक्त उद्योग नेपालकै पहिलो एनएस प्रमाणित इन्टरलकिङ पेभर्स उत्पादन गर्ने उद्योग भएको दाबी गरिएको छ । जर्मन प्रविधिबाट उत्पादन हुने विल्डकनका टायल्स, ब्लक र इन्टरलकिङ पेभर्स झापादेखि कैलालीसम्म प्रयोग भइरहेको उद्योगले जनाएको छ ।
विल्डकन इन्डष्ट्रिज प्रालिका सञ्चालक प्रदीप अग्रवालका अनुसार एनएसका १० वटा मापदण्ड पूरा गरी उत्पादन गरिएका इन्टरलकिङ पेभर्सले ८० टनसम्म भार वहन गर्न सक्छन् । हाल नेपालमा ४०–५० टनसम्मका सवारीसाधन सञ्चालन भइरहेकाले भविष्यको आवश्यकतालाई ध्यानमा राख्दै उच्च भारवहन क्षमता भएका पेभर्स उत्पादन गरिएको उनले बताए । उद्योगले एम–३० देखि एम–५० ग्रेडसम्मका इन्टरलकिङ पेभर्स उत्पादन गर्दै आएको छ ।
उद्योगले आफ्ना पेभर्स प्रयोग गरी निर्माण गरिएका सडकमा पाँच वर्षको ग्यारेन्टी दिने व्यवस्था गरेको छ । सडक निर्माणपछि पाँच वर्षभित्र टुटफुट भए तत्काल मर्मत गरिने भएकाले वार्षिक रूपमा सडक मर्मतमा हुने ठूलो खर्च जोगिने र यसले सरकारको खर्च कटौतीमा सहयोग पुग्ने उद्योगको भनाइ छ ।
विल्डकन इन्डष्ट्रिज प्रालिका अध्यक्ष भिमचन्द्र भट्टराईका अनुसार उद्योगले एनएस मापदण्डअनुसारका निर्माण सामग्री उत्पादन गरेकाले उपभोक्तामाझ यसको लोकप्रियता बढ्दै गएको छ । उद्योगबाट करिब ३५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्, जसले स्थानीय युवालाई विदेश पलायन हुनबाट रोकेको उनले बताए । दैनिक ३५ हजार स्क्वायर फिट अर्थात् करिब १ लाख २५ हजार पिस उत्पादन क्षमता भए पनि हाल ५० प्रतिशत क्षमतामा उत्पादन भइरहेको उद्योगको भनाइ छ ।
बिर्तामोड नगरपालिका वडा नं. १ का अध्यक्ष अग्निप्रसाद पाण्डेले कालोपत्रे सडकमा ग्यारेन्टी नहुने र पानीका कारण छिट्टै बिग्रने समस्याका कारण इन्टरलकिङ पेभर्सलाई विकल्पका रूपमा अपनाइएको बताए । उनका अनुसार इन्टरलकिङ पेभर्स हेर्दा आकर्षक, बलिया र आवश्यक परे सजिलै फेर्न सकिने भएकाले मर्मतमा पनि सहजता हुन्छ । बिर्तामोड नगरपालिकाका विभिन्न सडक इन्टरलकिङ पेभर्स प्रयोग गरी निर्माण गरिएको उनले जानकारी दिए ।
स्थानीयवासीहरू पनि गाउँ–गाउँमा इन्टरलकिङ पेभर्स प्रयोग गरी निर्माण भएका सडकहरू गुणस्तरीय र टिकाउ बनेको भन्दै सन्तुष्ट देखिएका छन् । कालोपत्रे सडकको दीर्घकालीन विकल्पका रूपमा इन्टरलकिङ पेभर्सले झापाको पूर्वाधार विकासमा नयाँ दिशा दिएको सरोकारवालाहरूको भनाइ छ ।

