CLI

मोबाइल बैंकिङले विस्थापित गर्दै इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या, छोटो समयमा घटे करिब साढे ३ लाख

काठमाडौं । पछिल्लो समय इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्यामा ठूलो गिरावट देखिएको छ । गएको ५ महिनामा इन्टरनेट बैंकिङ सेवा लिनेको संख्या ३ लाख ३८ हजारले घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत जुन महिनामा यस्तो सेवा लिनेहरुको संख्या २६ लाख ६५ हजार थियो ।

अहिले नोभेम्बसम्म आइपुग्दा उक्त संख्या घटेर २३ लाख २६ हजार पुगेको छ । प्रयोगकर्ता घटेसँगै केही बैंकहरुले सेवा बन्द गर्ने थालेका छन् । सानिमा बैंकले हालसालै आफ्नो इन्टरनेट बैंकिङ सेवा बन्द गरेको छ । मोबाइल बैंकिङ र डिजिटल भुक्तानीका अन्य माध्यमको प्रयोग बढेसँगै इन्टरनेट बैंकिङ प्रयोगकर्ता उल्लेख्य रुपमा घटेपछि बैंकले सो सेवा बन्द गर्ने निर्णय गरेको हो ।

यसरी प्रयोगकर्ता घट्दै गए भने अरु बैंकहरुले पनि यो सेवा बन्द गर्ने सम्भावना उच्च रहेको जानकारहरु बताउँछन् । यता, मोबाइल बैंकिङ सेवा लिनेहरुको संख्या भने २ करोड ८६ लाख पुगेको छ । र, यो सेवा लिनेको संख्या भने क्रमश बढ्दै गएको छ ।

पछिल्लो समय नेपाल क्लियरिङ हाउस (एनसीएचएल) अन्तर्गतको कनेक्ट आईपीएस र मोबाइल बैंकिङ जस्ता विकल्पहरु लोकप्रिय बन्दै गएका छन् । ग्राहकले यी माध्यमबाटै सहज रुपमा बैंकिङ कारोबार गर्न थालेपछि अतिरिक्त खर्च गरेर इन्टरनेट बैंकिङ सेवा नलिएको एक बैंकरले बताए।

‘इन्टरनेट बैंकिङ खासै प्रयोगमा आएको छैन,’ उनले भने, ‘ठूला भुक्तानी कनेक्ट आइपीएसबाट हुन्छ, साना कारोबार मोबाइल एप वा वालेटबाटै हुन्छन् । लग इन गर्न पनि सजिलो र छिटो छ । यस्तो अवस्थामा इन्टरनेट बैंकिङका लागि छुट्टै वार्षिक शुल्क किन तिर्ने भनेर ग्राहकले सेवा नलिएका हुन् । ‘ उनका अनुसार स्मार्टफोनको व्यापक प्रयोग, एपमार्फत सहज पहुँच, र छिटो सेवा उपलब्ध हुनु मोबाइल बैंकिङ लोकप्रिय हुनुका मुख्य कारण हुन् ।

यता, नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ता भने बढेका छन् । मोबाइल बैंकिङ प्रयोग गर्न सजिलो र पहुँचयोग्य छ। स्मार्टफोन र मोबाइल इन्टरनेटको व्यापक प्रयोगसँगै ग्राहकहरुले जहाँसुकै र जुनसुकै समयमा पनि बैंकिङ सेवा लिन सक्ने अवस्था बनेको छ । इन्टरनेट बैंकिङका लागि कम्प्युटर वा ल्यापटप आवश्यक पर्ने हुँदा यसको प्रयोग सीमित हुने गरेको छ।

मोबाइल बैंकिङ एपहरु प्रयोगकर्ता–मैत्री भएकाले नयाँ प्रयोगकर्ताले पनि सजिलै सेवा लिन सक्छन् । एपमार्फत रकम स्थानान्तरण, बिल भुक्तानी, मोबाइल रिचार्ज, खाताको विवरण जाँचलगायतका सेवा केही सेकेन्डमै गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार