काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा जीवन बीमा कम्पनीहरूले करिब ७७ अर्ब बीमा शुल्क संकलन गरेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आवको साउन देखि मंसिरसम्म ७६ अर्ब ९० करोड ५७ लाख बीमा शुल्क संकलन गरेको हो ।
समिक्षा अवधिमा जीवन बीमा कम्पनीहरुले १ करोड १५ लाख ३९ हजार १९५ वटा बीमा लेख मार्फत उक्त बीमा शुल्क आर्जन गरेका हुन् । गत आर्थिक वर्ष २०८१/८२ को तुलनमा जीवन बीमा कम्पनीहरुको बीमा शुल्क संकलन १६.९८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पाँच महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले ६५ अर्ब ७४ करोड १८ लाख बीमा शुल्क संकलन गरेका थिए ।
समिक्षा अवधिमा प्रथम बीमा शुल्क १६ अर्ब ९७ करोड ७ लाख लाख रहेको छ भने नवीकरण बीमाशुल्क ५९ अर्ब ९३ करोड ४९ लाख रहेको छ ।
प्राधिकरणको तथ्यांक अनुसार पाँच महिनाको अवधिमा सबैभन्दा बढी बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ, एलआइसी नेपाल र हिमालयन लाइफ इन्स्योरेन्स लगायतका कम्पनीले बीमा शुल्क संकलन गरेको छ । नेपाल लाइफले २९ अर्ब ३७ करोड ४१ लाख, नेशनलले ९ अर्ब २७ करोड २ लाख, एलआइसीले ८ अर्ब १८ करोड १० लाख र हिमालयन लाइफ इन्स्योरेन्सले ६ अर्ब ९२ करोड ४३ लाख बराबर बीमा शुल्क संकलन गरेको छ ।
त्यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्सले ४ अर्ब ४७ करोड ९१ लाख, एशियन लाइफ इन्स्योरेन्सले ३ अर्ब ७५ करोड १७ लाख बीमा शुल्क संकलन गरेको छ ।


