४९ लाख धरौटी बुझाएर छुटे दिपेन्द्र अग्रवाल

काठमाडौं ।  सेयर कारोबारी दिपेन्द्र अग्रवाल धरौटी बुझाएर रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अनुसार अग्रवालले ४९ लाख १९ हजार ८ सय ६५ रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

सिआइबीका अनुसार अग्रवाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार धरौटीमा छाडिएको हो। उक्त कानुनी व्यवस्थाले अनुसन्धान अधिकारीलाई सरकारी वकिलको सहमतिमा वा कारणसहितको पर्चा खडा गरेर हिरासतमा रहेका व्यक्तिलाई धरौटी वा जमानतमा छाड्न सक्ने अधिकार दिन्छ।

‘यस ऐन बमोजिम अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई वा तत्का त्यस्तो सहमति लिन सकिने अवस्था नभएमा कारण सहितको पर्चा खडा गरी त्यस्तो व्यक्तिबाट धरौटी वा जमानत लिई वा उनलाई कुनै माथवर व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्न वा तारिदमा राख्न सकिनेछ,’ उक्त दफामा भनिएको छ।

सिआइबीले उनलाई पुस ४ गते पक्राउ गरेको थियो। उनीविरूद्ध नेपाल धितोपत्र बोर्डले उजुरी गरेपछि सिआइबीले उनलाई पक्राउ गरेको थियो।

उनले बदनीयत राखेर शेयर बिक्री गरी ४९ लाख १९ हजार ८ सय ६५ रुपैयाँ कानुनविपरीत नाफा कमाएको आरोप रहेको छ । अग्रवाल यसअघि पनि ठगी कसुरमा पक्राउ परेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार