काठमाडौं । सञ्चालनमा रहेका म्युचुअल फन्डहरुले गएको मंसिरसम्म समग्रमा २ अर्ब ७२ करोड रुपैयाँ घाटा व्यहोरेका छन् । अघिल्लो महिना अर्थात, कात्तिकसम्म फन्डहरुले ४ अर्ब २४ करोड घाटा व्यहोरेका थिए । अघिल्लो महिनाको तुलनामा फन्डहरुको नोक्सानी घटेको छ ।
मंसिर महिना सेयर बजारमा केही सुधार देखिएको थियो । त्यसैले नोक्सानी घटेको हो । फन्डको लगानीको ठूलो हिस्सा सेयर बजारमा रहेको हुन्छ । त्यसैले बजारमा उतारचढाव आउँदा नाफा वा घाटा पनि तलमाथि हुने गर्छ ।
यता, ५३ मध्ये ८ वटा म्युचुअल फन्डहरुले मात्र नाफा कमाएका छन् । बाँकी सबै घाटामा छन् । रिपोर्ट अनुसार मंसिर महिनामा फन्डहरुको सेयर बजारमा ५२ अर्ब ७९ करोड ७ लाख रुपैयाँ लगानी रहेको देखिएको छ । यो अघिल्लो महिनाको भन्दा ५.३१ प्रतिशत धेरै हो । अघिल्लो महिना फन्डहरुको सेयर बजारमा ५० अर्ब १२ करोड लगानी थियो ।
कुन म्युचुअल फन्डको सेयर बजारमा कति लगानी ?
सञ्चालनमा रहेका सामूहिक लगानी कोषमध्ये सेयर बजारमा सबैभन्दा धेरै लगानी एनआइबीएल सहभागिता फन्डको रहेको छ । यस अवधिसम्म आइपुग्दा यो फन्डको सूचीकृत कम्पनीको सेयरमा ६ अर्ब ३८ करोड भन्दा धेरैको लगानी रहेको छ । कात्तिकमा ६ अर्ब १ करोड रुपैयाँ लगानी थियो । त्यस्तै, एनएमबि सरल बचतको ३ अर्ब ५३ करोड लगानी रहेको छ ।
२० वटा फन्डहरुको लगानी १ अर्ब भन्दा धेरै छ । समग्रमा म्युचुअल फन्डहरुले ५२ अर्ब ७९ करोड रुपैयाँ सेयर बजारमा लगानी गरेका छन् । यो अघिल्लो महिनाको भन्दा ५.३१ प्रतिशत धेरै हो ।

न्याभ
प्रभु स्मार्ट फन्डको न्याभ सबैभन्दा धेरै ११.९१ रुपैयाँ छ । त्यस्तै, प्रभु सेलेक्ट फन्डको न्याभ ११.६४ रुपैयाँ छ । ५३ मध्ये ५ वटाको न्याभ ११ रुपैयाँ भन्दा धेरै छ । यता, २७ वटाको उक्त भ्याल्यू १० रुपैयाँ भन्दा कम देखिएको छ ।

नाफा
सञ्चालनमा रहेका म्युचुअल फन्डहरुले मंसिर महिनासम्म समग्रमा २ अर्ब ७२ करोड रुपैयाँ घाटा व्यहोरेका छन् । अघिल्लो महिना यिनीहरुले ४ अर्ब २४ करोड नोक्सानी व्यहोरेका थिए । ५३ वटा फन्डमध्ये ८ वटा मात्र नाफामा छन् ।


