CLI

अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध घोषणा

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी अर्थ मन्त्रालयले बुधबार ९स्थानीय समय० भेनेजुएलाको तेल कारोबारमा संलग्न चार कम्पनीमाथि प्रतिबन्ध लगाउनुका साथै चार वटा तेल ट्याङ्करलाई अवरुद्ध सम्पत्तिका रूपमा सूचीकृत गरेको हो ।

मन्त्रालयले जारी गरेको आधिकारिक विज्ञप्तिअनुसार यी प्रतिबन्धहरू भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि दबाब बढाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो प्रयासको हिस्सा हुन् । भेनेजुएलाको तेल ओसारपसारमा संलग्न रहेको आरोपमा ती कम्पनी र तिनीसँग सम्बन्धित ट्याङ्करहरूलाई लक्षित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले विज्ञप्तिमा भनेका छन्, “राष्ट्रपति ट्रम्प स्पष्ट हुनुहुन्छ, अवैध मदुरो शासनले तेल निर्यातबाट नाफा कमाउन पाउँदैन, विशेष गरी जब त्यसले संयुक्त राज्य अमेरिकामा घातक लागु पदार्थको बाढी ल्याइरहेको छ ।” उनले अर्थ मन्त्रालय राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार मदुरो शासनमाथि दबाब बढाउने अभियान कार्यान्वयन गर्न निरन्तर लागिरहने पनि स्पष्ट पारेका छन् ।

राष्ट्रपति ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मदुरोमाथि संयुक्त राज्य अमेरिकालाई अस्थिर पार्ने उद्देश्यसहित ‘नार्को–आतङ्कवादी’ शासनको नेतृत्व गरिरहेको आरोप लगाउँदै आएका छन् । पछिल्लो प्रतिबन्ध घोषणामा पनि यही दाबी दोहोरिएको छ । आधिकारिक सूचनाअनुसार प्रतिबन्धको दायरामा परेका जहाजहरूमध्ये केही भेनेजुएलासँग सम्बन्धित तथाकथित ‘छाया फ्लीट’ (स्याडो फ्लीट) का हिस्सा हुन्, जसले मदुरोको अवैध शासनलाई इन्धन आपूर्ति गर्न आवश्यक वित्तीय स्रोत उपलब्ध गराइरहेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “मदुरोको शासन प्रतिबन्धबाट जोगिन र प्रतिबन्धयोग्य गतिविधिहरू सहज बनाउन विश्वव्यापी जहाजहरूको छाया फ्लीटमा बढ्दो रूपमा निर्भर हुँदै आएको छ । यिनै माध्यमबाट शासनले आफ्ना अस्थिर गतिविधिहरूका लागि राजस्वसमेत आर्जन गरिरहेको छ । आजको कदमले भेनेजुएलाको तेल व्यापारमा संलग्नहरू अझै पनि गम्भीर प्रतिबन्धको जोखिममा रहेको सन्देश दिन्छ ।”

यसैबिच, राष्ट्रपति ट्रम्पले हालै भेनेजुएलाका राष्ट्रपति मदुरोलाई सत्ता त्याग्नु ‘बुद्धिमानी कदम’ हुने टिप्पणी गरेका छन् । संयुक्त राज्य अमेरिकाले दक्षिण अमेरिकी मुलुकमाथि सैन्य तथा आर्थिक दबाब बढाइरहेका बेला उनको यो अभिव्यक्ति आएको हो ।

मदुरोलाई जबरजस्ती सत्ताबाट हटाउने उद्देश्य नै प्रशासनको रणनीति हो कि भन्ने प्रश्नमा राष्ट्रपति ट्रम्प अन्तिम नतिजाबारे स्पष्ट देखिएनन् । तर उनले मदुरोलाई दिइएको सल्लाहबारे भने खुला रूपमा धारणा व्यक्त गरेका छन् । “मलाई लाग्छ, सम्भवतः त्यस्तो हुनसक्छ”, उनले भने, “यो उहाँले के गर्न चाहनुहुन्छ भन्ने कुरामा निर्भर छ । मलाई लाग्छ, उहाँले सत्ता छोड्नु बुद्धिमानी हुनेछ । अब के हुन्छ, हामी हेर्नेछौँ ।”

राष्ट्रपति ट्रम्पले भेनेजुएलामाथि अमेरिकालाई गम्भीर क्षति पुर्‍याएको आरोप पनि दोहोर्‍याए । उनका अनुसार लाखौँ मानिस खुला सीमाबाट अमेरिका प्रवेश गरेका छन् । “उनीहरूले आफ्ना अपराधीहरू, बन्दीहरू, लागुऔषध व्यापारीहरू र मानसिक रूपमा अस्थिर तथा अयोग्य मानिसहरू हाम्रो देशतर्फ पठाएका छन्, अन्य कुनै पनि देशभन्दा बढी”, उनले भनेका छन् ।

Leave Your Comment

Related News