CLI

बुद्ध एयर दुर्घटना अनुसन्धान गर्न काठमाडौँबाट चन्द्रगढी विमानस्थल पुग्यो प्राविधिक टोली

काठमाडौं । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा शुक्रबार राति भएको बुद्ध एयरको जहाज दुर्घटना अनुसन्धान गर्न काठमाडौँबाट नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्वमा टोली शनिबार बिहान त्यहाँ पुगेको छ।

प्राधिकरणका महानिर्देशक डि.सि.एल. कर्णको नेतृत्वमा प्राधिकरण, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधिसहित बुद्ध एयरको प्राविधिक टोली आवश्यक उपकरण लिएर चन्द्रगढी विमानस्थल पुगेको हो।

गएराति काठमाडौंँबाट झापाका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज चन्द्रगढी विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेको पूर्वतर्फ ३ सय मिटर ओभर रन भई घाँसे झाडी र माटोमा भासिएको हो।

यसैबीच बुद्ध एयरले घटनाप्रति आफू निकै गम्भीर भएको उल्लेख गर्दै यसको विस्तृत छानबिनका लागि नागरिक उड्डयन प्राधिकरणलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

उक्त समयमा उद्धारमा खटिएका नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नागरिक उड्डयन प्राधिकरण तथा बुध्द एयरका कर्मचारीप्रति उसले आभार पनि प्रकट गरेको छ।

जहाजमा सवार ५१ यात्रुमध्ये सामान्य घाइते भएका सबै जना प्राथमिक उपचारपछि सकुशल घर फर्किसकेको जानकारी पनि बुद्ध एयरले दिएको छ।

Leave Your Comment

Related News