काठमाडौं । नेपाल राष्ट्र बैंकले पुननिर्माण र परियोजना प्राथमिकिरणले यस वर्ष आर्थिक गतिविधि बढ्ने दाबी गरेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा पुननिर्माण र परियोजना प्राथमिकिरणले आर्थिक गतिविधि बढ्ने बताएको हो । गत आर्थिक वर्षमा कृषि, उद्योग, पूर्वाधार लगायतका क्षेत्रमा सुधार हुन नसके पनि चालु आवमा उक्त क्षेत्रहरु सुधार हुँदै जाने प्रक्षेपण राष्ट्र बैंकले गरेको छ ।
राष्ट्र बैंकले तयार गरेको अध्ययन प्रतिवेदन अनुरुप विभिन्न क्षेत्रको स्थिति :
समष्टिगत स्थिति
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८१ /८२ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ४.६ प्रतिशत र प्रचलित मूल्यमा ४० प्रतिशत रहने प्रारम्भिक अनुमान छ । आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहेको संशोधित अनुमान छ ।
आर्थिक वर्ष २०८१ /८२ को कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५.२ प्रतिशत, १२.८ प्रतिशत र ६२.० प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।
आर्थिक वर्ष २०८१/८२ मा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३६.५ प्रतिशत रहेको छ भने कोशी प्रदेशको हिस्सा १५.९ प्रतिशत रहेको छ । कर्णाली प्रदेशको हिस्सा भने सबैभन्दा कम ४.२ प्रतिशत रहेको छ ।
कृषि क्षेत्र
आर्थिक वर्ष २०८१/८२ मा प्रमुख कृषि बालीको उत्पादन ३.७ प्रतिशतले बढेको छ । यस्ता बालीले ढाकेको भू–क्षेत्र भने २.२ प्रतिशतले घटेको छ ।
समीक्षा वर्षमा तरकारी उत्पादन १०.१ प्रतिशत र मसला उत्पादन ०.७ प्रतिशतले बढेको छ भने फलफूल उत्पादन ३.३ प्रतिशतले घटेको छ ।
पशुजन्य उत्पादन अन्तर्गत दूध उत्पादन १.० प्रतिशत र मासु उत्पादन ०.३ प्रतिशतले घटेको छ भने अण्डा उत्पादन १.० प्रतिशतले बढेको छ । वनजन्य उत्पादन अन्तर्गत काठ उत्पादन ८.८२ प्रतिशत र दाउरा उत्पादन ४.७४ प्रतिशतले बढ्दा औषधिजन्य वस्तुको उत्पादन १.९१ प्रतिशतले घटेको छ ।
उद्योग क्षेत्र
आर्थिक वर्ष २०८१/८२ मा अध्ययनमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४४.५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८० ८१ मा यस्तो क्षमता उपयोग ४८.३ प्रतिशत रहेको थियो ।
२०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामा औद्योगिक क्षेत्र कर्जाको अंश ३०.४२ प्रतिशत रहेको छ ।
सेवा क्षेत्र
आर्थिक वर्ष २०८१/८२ मा नेपाल भ्रमण गर्ने पर्यटक संख्या १.७ प्रतिशतले वृद्धि भई ११ लाख ४७ हजार ८ सय ३४ जना पुगेको छ ।
समीक्षा वर्षमा घर भवन नक्शा पास संख्या १२ प्रतिशतले र घरजग्गा रजिष्ट्रेशनवाट प्राप्त हुने राजस्व १८.६ प्रतिशतले घटेको छ ।
२०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १२.५ प्रतिशतले र कर्जा प्रवाह ८२ प्रतिशतले वृद्धि भएको छ । २०८२ असार मसान्तमा औसत कर्जा निक्षेप अनुपात ७६.६ प्रतिशत रहेको छ ।
बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप तथा कर्जामा बागमती प्रदेशको अंश उच्च रहेको छ । कुल निक्षेपमा यस प्रदेशको अंश ६५.८ प्रतिशत र कुल कर्जामा ५९.५ प्रतिशत रहेको छ ।
समीक्षा वर्षमा यातायात साधनको सवारी दर्ताको सङ्ख्या ३७.८ प्रतिशतले बढेको छ ।
पूर्वाधार
आर्थिक वर्ष २०८१/८२ मा १२३५ कि.मि. कालोपत्रे सडक, २८७ कि. मि. ग्राभेल सडक, ३०१ कि.मि. नयाँ ट्र्याक निर्माण भएको छ भने ३७० कि.मि. सडक मर्मत भएको छ ।
बाह्य क्षेत्र र रोजगारी
आर्थिक वर्ष २०८१/८२ मा कुल वस्तु निर्यात ८१.८ प्रतिशतले वृद्धि भई रु. २ खर्व ७७ अर्ब ३ करोड पुगेको छ भने कुल वस्तु आयात १३.३ प्रतिशतले वृद्धि भई रु.१८ खर्व ४ अर्ब १२ करोड पुगेको छ । आर्थिक वर्ष २०८१÷८२ मा वैदेशिक रोजगारीमा (पुनः श्रम स्वीकृति समेत जानेको संख्या ८,३९,२६६ रहेको छ । यसमध्ये मधेश प्रदेशको अंश सबैभन्दा बढी २३.१ प्रतिशत र कर्णाली प्रदेशको अंश सबै भन्दा कम ३.४ प्रतिशत रहेका छन् ।
संघीय एवम् प्रादेशिक कार्यक्रम तथा योजना
आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारले कुल रु.१८ खर्ब ६० अर्ब ३० करोड बजेट विनियोजन गरेकोमा बजेटको अर्धवार्षिक समीक्षामा संशोधन गरी कुल रु.१६ खर्ब ९२ अर्ब ७३ करोड हुने गरी संशोधन गरिएको थियो । उक्त बजेटमध्ये आर्थिक वर्ष २०८१ ÷ ८२ को अन्त्यसम्ममा रु.१५ खर्ब १२ अर्ब ९८ करोड (८९.४ प्रतिशत) खर्च भएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा प्रदेशहरूको कुल विनियोजित बजेट रु. २ खर्ब ७८ अर्व ७० करोड रहेको थियो । विनियोजित बजेट मध्ये चालुतर्फ रु.८५ अर्ब ८७ करोड (३०.८१ प्रतिशत), पुँजीगततर्फ रु.१६१ अर्ब ४२ करोड (५७.९२ प्रतिशत), वित्तीय व्यवस्थातर्फ रु. २ अर्ब १७ करोड (०.७८ प्रतिशत) र वित्तीय हस्तान्तरण तर्फ रु.२९ अर्ब २४ करोड (१०.४९ प्रतिशत रहेको थियो ।
आर्थिक परिदृश्य
आर्थिक वर्ष २०८२ /८२ मा मुद्रास्फीतिको चाप कम रहेको छ। विश्वव्यापी रुपमा इन्धन तथा खाद्य वस्तुको मूल्यमा गिरावट आएको, कर्जा तथा निक्षेपको ब्याजदर घट्दो अवस्थामा रहेको, जलविद्युत् उत्पादनमा उल्लेख्य वृद्धि भएको, बाह्य पर्यटकको आगमनमा वृद्धि सँगसँगै निर्यात र विप्रेषण आप्रवाहमा पनि वृद्धि भएको र विगत केही वर्षदेखि सङ्कुचनमा रहेको निर्माण र उत्पादनमूलक उद्योग क्षेत्र, यस बैंकले गरेको मौद्रिक सहजताका कारण विस्तार हुँदै गएको हुँदा आर्थिक वृद्धि औसतभन्दा बढी हुने देखिन्छ ।
आर्थिक वर्ष २०८२ /८२ मा आर्थिक क्रियाकलाप अघिल्लो वर्षको तुलनामा सकारात्मक हुने अनुमान छ । अर्थतन्त्रमा तरलता पर्याप्त रहेको, सरकारले सुशासन प्रवद्र्धन गर्दै पुर्ननिर्माण कार्य अघि बढाएको, साना र तयारी नपुगेका आयोजनामा बजेट स्थगन गर्दै परियोजना प्राथमिकिकरण गरिएको लगायतका कार्यहरुले अर्थतन्त्र चलायमान भई आर्थिक गतिविधि बढने अनुमान रहेको छ ।


