CLI

बुद्ध जन्मस्मारक शिलाः मौन साक्षीले बोलिरहेको इतिहास

काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनीबारे धेरैलाई जानकारी छ, तर बुद्ध जन्मविन्दुबारे भने धेरैलाई जानकारी नहुनसक्छ । यसबारे सदियौँदेखि थरीथरीका चर्चा हुँदै आए पनि प्रमाणित तथ्य भने अन्यौलमै थियो । यही अन्यौलका बीच सन् १९९६ फेब्रुअरी ४ अर्थात् विसं २०५२ माघ २१ मा एउटा प्रमाण फेला पर्‍यो, जसले हजारौँ वर्षदेखिको अन्यौललाई चिरेको जानकारहरू बताउँछन् ।

सो दिन मायादेवी मन्दिरको गर्भमा भेटिएको एक ‘बलौटे ढुङ्गा’ लाई संसारसामु सार्वजनिक गरिएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा सार्वजनिक गरिएको त्यस प्रमाणले बुद्ध जन्मस्थलबारे विश्वभर चलिरहेका सबै प्राज्ञिक बहस र चर्चामा ‘पूर्णविराम’ लगाएको थियो ।

लुम्बिनी विकास कोष पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीका अनुसार सन् १९९२ देखि १९९५ सम्म लुम्बिनी विकास कोष, नेपाल सरकार पुरातत्व विभाग र जापान बुद्धिस्ट फेडरेसनले संयुक्त रूपमा उत्खनन गर्दा मन्दिरको जगमा एउटा भग्नावशेष भेटिएको थियो ।

१५ तहका इँटाहरूको सुरक्षा घेरा (चेम्बर)भित्र त्यो प्राचीन ढुङ्गा विशेष रूपले सजाइएको अवस्थामा फेला परेको थियो । त्यही ढुङ्गालाई शाक्यमुनि बुद्धको जन्मस्थलबारे निर्विवाद ऐतिहासिक प्रमाणका रूपमा लिइएको छ । महाशाखा प्रमुख उप्रेतीले भने, “यो ढुङ्गा ठ्याक्कै त्यही स्थानमा भेटिएको थियो, जसको मुनि इसापूर्व छैटौँ शताब्दीको काठको प्राचीन मन्दिरको अवशेष भेटिएको थियो । यसले बुद्धको समयदेखि नै यो स्थानलाई ‘पवित्र’ मानी पूजा गरिँदै आएको तथ्यलाई वैज्ञानिक रूपमै प्रमाणित गरिदियो ।” उनका अनुसार अशोकस्तम्भको शिलालेखमा उल्लिखित ‘सिलाविगडाभिच’ शब्दले पनि यसै ‘जन्मस्मारक शिला’ लाई सङ्केत गरेको छ ।

Leave Your Comment

Related News