काठमाडौं । भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु १,०१,००,०००।– (अक्षरमा एक करोड एक लाख मात्र) सहयोग उपलब्ध गराएको छ ।
उक्त रकम बराबरको चेक सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडका अध्यक्ष सुरेशलाल श्रेष्ठले पुस २१ गते (सोमबार) अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका छन् ।
सो अवसरमा अर्थ सचिव, राजस्व सचिव लगायत सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समेतको उपस्थिति रहेको थियो । भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पुर्याउनु भएको योगदानका लागि नेपाल सरकारको तर्फबाट अर्थमन्त्री रामेश्वर खनालले सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडलाई हार्दिक धन्यवाद ज्ञापन गरे ।
साथै उक्त रकम सहित आजको मितिसम्म उक्त कोषमा १३ करोड ३५ लाख ६५ हजार जम्मा भएको छ ।


