CLI

मौसमी कारण देखाउँदै ‘ओपेक प्लस’ द्वारा उत्पादन वृद्धि रोक्ने निर्णय

भियना। तेल निर्यात गर्ने देशहरूको सङ्गठन (ओपेक) र उसका साझेदार राष्ट्रहरू मिलेर बनेको ओपेक प्लसले मौसमी कारण देखाउँदै फेब्रुअरी र मार्च महिनामा तेल उत्पादन वृद्धि रोकिरहने निर्णय गरेको छ । ओपेकले आइतबार जारी गरेको विज्ञप्तिमा यसबारे जानकारी दिएको हो ।

यो निर्णय साउदी अरेबिया, रूस, इराक, संयुक्त अरब इमिरेट्स, कुवेत, काजाकिस्तान, अल्जेरिया र ओमानलगायत ओपेक प्लसका सदस्य देशहरूको भर्चुअल बैठकपछि गरिएको हो । बैठकमा विश्व तेल बजारको अवस्था र आर्थिक परिदृश्यको समीक्षा गरिएको थियो ।

ओपेक प्लसका यी आठ देशहरूले अप्रिल सन् २०२५ देखि मासिक रूपमा तेल उत्पादन बढाउँदै आएका थिए । तर, गत वर्ष नोभेम्बरको अन्त्यतिर मौसमी अवस्थालाई ध्यानमा राख्दै जनवरी, फेब्रुअरी र मार्च सन् २०२६ मा उत्पादन वृद्धि रोक्ने निर्णय गरिएको थियो ।

विज्ञप्तिअनुसार, सदस्य देशहरूले सतर्क नीति अपनाउने र बजारको अवस्थाअनुसार आवश्यक परेमा उत्पादन स्तर समायोजन गर्न पूर्ण लचिलोपन कायम राख्ने बताएका छन् ।

ओपेकले ओपेक प्लसका यी आठ देशहरूको अर्को बैठक फेब्रुअरी १ मा हुने र त्यस बैठकमा आगामी निर्णयहरू लिइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार