CLI

स्वदेशी सिमेन्टमा आधारित ‘सेतो पिच’ सडक निर्माणमा जोड

विराटनगर । आयातित विटुमिनमा निर्भरता घटाउँदै स्वदेशी कच्चा पदार्थमा आधारित सिमेन्ट कङ्क्रिट (सेतो पिच) सडकलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

नेपाल सिमेन्ट उत्पादक संघले नेपाल इन्जिनियर्स एशोसिएसन, कोशी प्रदेशसँगको सहकार्यमा आयोजना गरेको ‘रिजिड पेभमेन्टको डिजाइन र निर्माण’ तालिममा सहभागी सरोकारवालाहरुले सो कुरामा जोड दिएका हुन ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आयातित विटुमिनमा निर्भरता घटाएर स्वदेशी कच्चा पदार्थमा आधारित सेतो पिच सडक निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले गुणस्तरीय र दीगो सडक निर्माण नगरे लगानी दीर्घकालीन रूपमा नाफा नदिने चेतावनी पनि दिए। उनले असारमा गरिने अल्पकालीन र कमजोर निर्माणले दीर्घकालीन समस्या सिर्जना गर्ने र गुणस्तरीय, दीगो सडक निर्माण गर्दा मात्र लगानी किफायती हुने स्पष्ट गरे।

स्थानीय चुनढुङ्गा स्रोतको प्रयोगले व्यापार घाटा घटाउन सकिने उल्लेख गर्दै, सिमेन्ट र स्थानीय सामग्री प्रयोग अनिवार्य गर्ने कानुनी व्यवस्था छिट्टै ल्याउने प्रतिबद्धता व्यक्त गरे।मुख्यमन्त्रीले इन्जिनियरहरूलाई नयाँ प्रविधिमा दक्ष भई राजनीतिक नेतृत्वलाई सही सल्लाह दिन आग्रह गर्दै गुणस्तरीय काम गर्दा कानुनी संरक्षणको आश्वासन पनि दिए।

लेटाङ नगरपालिकाका नगरप्रमुख भूपेन्द्रकुमार लावतीले नेपालमा ‘रिजिड पेभमेन्ट’ तालिम अत्यावश्यक भएको बताए। उनका अनुसार स्थानीय सामग्रीको प्रयोगले दीगो विकासमा सहयोग पुग्छ।

दुहबी नगरपालिकाकी उप–प्रमुख मेनुका पोखरेलले हालका सडक दीगो नहुँदा पटक-पटक मर्मत गर्नुपरेको र यसले राज्यको स्रोत दोहोरो खर्चमा जान्छ भन्ने चिन्ता व्यक्त गरिन्। उनले गुणस्तरीय निर्माणमा ध्यान दिँदा मात्र दीर्घकालीन लाभ हुने बताउँदै, नगरपालिकाले सिमेन्ट कङ्क्रिट सडक निर्माणमा सहकार्य गर्न तयार रहेको जानकारी दिइन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इन्जिनियर मिलन आचार्यले नयाँ प्रविधि र स्वदेशी सिमेन्ट प्रयोगले विदेशी मुद्रा बचत र वातावरणीय लाभ हुने जानकारी दिए। स्वदेशी सिमेन्टको प्रयोगले विदेशी मुद्रा बचत हुने र वातावरणीय दृष्टिले लाभदायक हुने उनको मुख्य सन्देश थियो।

तालिम संयोजक ई. ध्रुव थापाले नेपालको सिमेन्ट उद्योग आत्मनिर्भर भइसकेको र गुणस्तरीय सडक निर्माणले दीर्घकालीन समाधान दिन सक्ने बताए। उनले विटुमिन सडकको दीर्घकालीन समस्याको समाधान सिमेन्टमा आधारित “सेतो पिच” सडक भएको र देशभित्र उपलब्ध कच्चा पदार्थ प्रयोग गर्दा व्यापार घाटा घट्ने स्पष्ट गरे।। यस्ता तालिमले सरकारी इन्जिनियरहरूलाई दक्ष बनाउने र भ्रष्टाचार कम गर्ने विश्वास व्यक्त गरे।

तालिममा रिजिड पेभमेन्टको अवधारणा, डिजाइन, निर्माण अभ्यास, जोइन्ट र रिइन्फोर्समेन्ट, तथा सम्भावित दोषबारे प्राविधिक प्रस्तुति र अन्तरक्रिया भएको थियो। सहभागीहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो।

कार्यक्रममा संघीय, प्रदेश र स्थानीय तहका सरकारी प्रतिनिधि, इन्जिनियर, प्राविधिक विज्ञ र पत्रकारहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।

Leave Your Comment

Related News