CLI

नेपाल धितोपत्र बोर्डले कमायो ७० करोड नाफा, जगेडामा करिब ४ अर्ब रुपैयाँ

काठमाडौं । नेपाल धितोपत्र बोर्डले गत वर्ष ७० करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा २७ करोड ६० लाख रुपैयाँ अर्थात, ६५.०४ प्रतिशत बढी हो । आर्थिक वर्ष २०८०/८१ मा बोर्डले ४२ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । नेपाल धितोपत्र बोर्डले गत वर्ष १ अर्ब भन्दा धेरै आम्दानी गरेको छ ।

बोर्डले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २९ करोड ९६ लाख रुपैयाँ आम्दानी (अपरिष्कृत)  गरेको छ । अघिल्लो वर्ष उक्त आम्दानी ८९ करोड ७९ लाख रुपैयाँ रहेको थियो । बोर्डको वासलातको आकार २०८०/८१ मा ३ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो । २०८१/८२ मा उक्त वासलातको आकार (अपरिष्कृत) बढेर ४ अर्ब ७० करोड २७ लाख रुपैयाँ पुगेको छ ।

सेबोनको आम्दानीतर्फ विशेषतः धितोपत्र दर्ता निष्कासनका लागि स्वीकृति प्रदान, सामूहिक लगानी योजना स्वीकृति, क्रेडिट रेटिङ्ग सेवा शुल्क, सिडिएस एण्ड क्लियरिङ्ग कम्पनी तथा धितोपत्र बजार अनुमति पत्र नवीकरण दस्तुर, मर्चेन्ट बैकिङ्ग तथा ब्रोकर प्रमाणपत्र नवीकरण दस्तुर, धितोपत्र कारोबार दस्तुर, विभिन्न आवेदन शुल्क, विवरणपत्र प्रशोधन शुल्क र अनुमति पत्र शुल्कबाट १ अर्ब १३ करोड ५४ लाख आम्दानी गरेको छ भने ब्याज तथा अन्य आम्दानीबाट १६ करोड ४२ लाख रुपैयाँ प्राप्त गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा बोर्डको जम्मा खर्च (कर बाहेक) ३३ करोड ६० लाख रहेको छ । त्यस्तै, २०८०/८१ मा बोर्डको कर खर्च (चालु कर खर्च र स्थगन कर खर्च) १६. ७३ करोड रहेको थियो । २०८१/८२ मा भने २६ करोड ३२ लाख पुगेको छ । यता, २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण अनुसार बोर्डको कोष तथा जगेडा ३ अर्ब ९२ करोड ६७ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार