चितवन । अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघले फार्महरूसँग लिएको मूल्यलाई एकीकृत गरी मंगलबारदेखि लागू हुने गरी अण्डामा प्रतिक्रेट ९० रुपैयाँ घटाएको हो । फार्ममा ठूलो अण्डा ५ सय ६५ रुपैयाँ प्रतिक्रेट (३० वटाको) पुगेको अण्डाको मूल्य घटेर ४ सय ७५ रुपैयाँमा झरेको हो ।
यस्तै, मिडियम अण्डाको प्रतिक्रेट ५ सय ५० रुपैयाँबाट ४ सय ६० रुपैयाँमा झरेको संघले जनाएको छ । संघका अध्यक्ष विनोद पोखरेलका अनुसार ठूला फार्म बाट दररेट लिएर समर्थन मूल्य तोकिएको हो । यससँगै उपभोक्ता मूल्य प्रतिगोटा २५ रुपैयाँबाट २० रुपैयाँमा झारिएको छ ।
बढ्दो जाडोसँगै उपत्यका र हिमाली भेगमा विद्यालय बन्द र गतिविधि कम भएको, पर्यटकको आगमन घट्दै गएको, अण्डाको मूल्य राम्रो पाइने आशामा कुखुरा बिक्री नगरी अण्डा उत्पादन गरिरहेकालगायत कारणले मूल्य घटेको हो । अध्यक्ष पोखरेलले संस्थाहरु बिदा र माग पनि घटेको हुँदा अण्डाको मूल्य घटेको बताए ।


