काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे ३ खर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार ११ वर्षमा (चालु आवको पुस २२ गतेसम्म) कम्पनीहरुको ३ खर्ब ४७ अर्ब ६६ करोड रुपैयाँ बराबरको सेयर सूचीकृत भएको हो । यी वर्षहरुमध्ये २०७८-७९ मा सबैभन्दा धेरै ६१ अर्ब ७९ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ ।
त्यसपछि, २०७७-७८ मा ४६ अर्ब २१ करोड, २०७९-८० मा ३९ अर्ब ४३ करोड र २०७६-७७ मा ३३ अर्ब ६८ करोडको सेयर सूचीकृत भएको हो । धितोपत्र बोर्डका अनुसार २०७२-७३ मा २१ अर्ब ६ करोड, २०७३-७४ मा ३४ अर्ब ८० करोड, २०७४-७५ मा ३३ अर्ब ९ करोड, २०७५-७६ मा २६ अर्ब ७ करोड, २०८०-८१ मा २० अर्ब ५४ करोड र २०८१-८२ सालमा २४ अर्ब ५७ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ ।
यता, चालु आर्थिक वर्षको पुस २२ गतेसम्म आइपुग्दा ५ अर्ब ७९ करोड रुपैयाँ बराबरको सेयर बोनस सूचीकृत भएको बोर्डले जनाएको छ ।
२०७६ देखि २०८० सम्म कम्पनीहरुले थुप्रै रकम बोनस सेयर वितरणमा प्रयोग गरेका छन् ।
हाल सूचीकृत धितोपत्रहरुको चुक्ता पुँजी करिब ८ खर्ब ७५ अर्ब रुपैयाँ छ । जबकी, पछिल्लो ११ वर्षमा कम्पनीहरुले साढे ३ खर्ब जति रकम त बोनस सेयर वितरण बाटै पुँजी बढाएका छन् ।

बोनस सेयरकै भरमा पुँजी विस्तार, किन कम्पनीहरुले बोनस सेयरलाई प्राथमिकता दिन्छन् ?
नेपालको पुँजी बजारमा पछिल्ला एक दशकयता कम्पनीहरुले पुँजी विस्तारका लागि हकप्रद र बोनस सेयरलाई मुख्य माध्यम बनाउँदै आएका छन् । हाल सूचीकृत धितोपत्रहरुको कुल चुक्ता पुँजी करिब ८ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ भने, पछिल्ला ११ वर्षमा मात्र कम्पनीहरुले साढे ३ खर्ब रुपैयाँभन्दा बढी रकम बोनस सेयरमार्फत पुँजीमा जोडिसकेका छन् ।
यस तथ्यांकले कम्पनीहरु किन र कसरी बोनस सेयरमा निर्भर हुँदै गएका छन् भन्ने प्रश्न महत्वपूर्ण बनेको छ । सबैभन्दा पहिलो कारण कम्पनीहरुको नगद प्रवाहसँग सम्बन्धित छ । नगद लाभांश वितरण गर्दा कम्पनीले प्रत्यक्ष रुपमा ठूलो रकम बाहिर निकाल्नुपर्छ, जसले सञ्चालन खर्च, ऋण भुक्तानी र भविष्यका लगानी योजनामा असर पार्न सक्छ ।
त्यसको विपरीत, बोनस सेयर वितरण गर्दा कम्पनीको नगद कोष सुरक्षित रहन्छ । यसैले पर्याप्त नाफा भए पनि नगद व्यवस्थापन चुनौतीपूर्ण भएका कम्पनीहरुले बोनस सेयरलाई सहज विकल्पका रुपमा रोज्ने गरेका छन् ।
यता, बोनस सेयरले कम्पनीको चुक्ता पुँजी बढाउँछ, जसले वित्तीय रुपमा कम्पनी बलियो देखिन्छ । विशेषगरी बैंक, बीमा र वित्तीय संस्थाहरुलाई नियमनकारी निकायले तोकेको न्यूनतम पुँजी कायम गर्नुपर्ने भएकाले बोनस सेयर प्रभावकारी उपाय बन्दै आएको छ।
नेपाली सेयर बजारमा बोनस सेयरलाई सकारात्मक रुपमा लिने प्रवृत्ति अझै बलियो छ। सेयर संख्या बढ्दा धेरै लगानीकर्तालाई आफ्नो लगानी बढेको जस्तो अनुभूति हुन्छ । यही मनोवैज्ञानिक पक्षलाई बुझेर कम्पनीहरुले बोनस सेयरलाई बजार मैत्री कदमका रुपमा प्रयोग गर्ने गरेका छन् ।
बोनस सेयर वितरणले कम्पनीलाई विकासशील र आकर्षक देखाउने रणनीतिक उपकरणको काम पनि गर्छ । यद्यपि यसले चुक्ता पुँजी बढाए पनि कम्पनीको वास्तविक उत्पादन, आम्दानी क्षमता वा बजार मूल्यमा प्रत्यक्ष वृद्धि हुँदैन। अत्यधिक बोनस सेयर वितरणले बजारमा सेयर आपूर्ति बढाई मूल्यमा दबाब सिर्जना गर्न सक्छ ।



