काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । नेपाल सौर्य विद्युत उत्पादक सङ्घको २५ औं वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उनले नेपालमा सौर्य ऊर्जा बढ्दो क्रममा रहेकाले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले भने, ‘सौर्य ऊर्जा राष्ट्रिय प्रसारण ग्रिडमा जोडिन थालेको छ, यसको उत्पादन बढाउन सकिए विद्युत् आयातलाई घटाउन सकिन्थ्यो ।’
मन्त्री घिसिङले सौर्य ऊर्जालाई अगाडि बढाउन सरकारले मापदण्ड बनाएर कार्यान्वयनमा लैजान लागेको बताए । उनले देशभर रहेका सिँचाइका नहरमा सौर्य ऊर्जा उत्पादनका लागि सरकारले अध्ययन गरिरहेको उल्लेख गरे । ‘सिँचाइका नहरमाथि सौर्य उत्पादन गरेर कसरी निजी क्षेत्रलाई समावेश गर्न सकिन्छ भनेर सरकार लागिरहेको छ,’ उनले भने ।
उनले छिमेकी मुलुक भारतमा एक लाख मेगावाटभन्दा बढी सौर्य ऊर्जा उत्पादन भइरहेको बताउँदै नेपालको पहाडी भूभागमा रहेका डाँडाहरुको प्रयोग गरेर नेपालमा पनि सौर्य ऊर्जा उत्पादनलाई बढाउन सकिने बताए । भारतमा १५ हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी प्रसारण लाइन निर्माण भइरहेको उनको भनाइ थियो ।


