काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आगामी माघ ६ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक का लागि आईपीओ ल्याउन लागेको हो ।
कम्पनीले रु. १०० अंकित दरमा ३२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट पुस १६ गते अनुमति पाइसकेको छ । यसअनुसार कम्पनीले कुल ३२ करोड रुपैयाँबराबरको आईपीओ जारी गर्नेछ ।
कुल जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् ९ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ । यो सेयर बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका वडा नं. १ देखि १० सम्म तथा ढोरपाटन नगरपालिका वडा नं. २ का स्थानीय बासिन्दालाई बिक्री गरिनेछ । यी क्षेत्रहरू वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा विद्युत उत्पादन अनुमतिपत्रका आधारमा आयोजना प्रभावित क्षेत्रका रूपमा निर्धारण गरिएका हुन् ।
यस्तै, बाँकी २२ लाख २० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख २२ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक का लागि निष्कासन गरिनेछ ।
कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयर पूर्ण रूपमा बिक्री नभएमा बाँकी सेयर सर्वसाधारणमा समायोजन गरी निष्कासन गरिनेछ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि १० देखि १० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् ।
आयोजना प्रभावित क्षेत्रका लागि आईपीओ निष्कासन छिटोमा माघ २० गते र ढिलोमा फागुन ८ गते बन्द हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा माघ ९ गते र ढिलोमा माघ २० गते आवेदन अवधि तोकिएको छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंक नक्साल, बुर्तिवाङ, बागलुङ बजार, प्रभु बैंक ग्वालीचौर, गरिमा विकास बैंक बुर्तिवाङ तथा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक बुर्तिवाङ शाखा बाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने धितोपत्र बोर्डबाट स्वीकृत सबै आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय र मेरो सेयर अनलाइन प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेड लाई दिइएको छ । पहिलो चरणको निष्कासन सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने जनाएको छ ।


