झापा । नेपालमा उत्पादित छुर्पीको निर्यात ३२ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा पूर्वीनाका काँकरभिट्टा हुँदै ४८ करोड ५२ लाख ७३ हजार मूल्यबराबरको दुई लाख ७५ हजार २४६ केजी छुर्पी निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए ।
गत आव २०८१/८२ को सोही अवधिको तुलनामा चालु आवमा ३२ प्रतिशतले निर्यात बढेको हो । गत आवको साउनदेखि मङ्सिरसम्ममा ३६ करोड ७६ लाख २३ हजार मूल्यबराबरको दुई लाख १७ हजार ६८ केजी छुर्पी निर्यात भएको उनले बताए ।
गत आवको तुलनामा चालु आवमा छुर्पीको निर्यात ११ करोड ७६ लाख ५० हजारले बढेको जनाइएको छ । नेपाली छुर्पी निर्यात हुने मुख्य नाका नै काँकरभिट्टा हो । मेची भन्सारबाट निर्यात हुने प्रमुख १० मालवस्तुको सूचीमा छुर्पी चौथो स्थानमा छ ।
पहाडी तथा हिमाली जिल्लामा दुग्धजन्य वस्तुबाट छुर्पी उत्पादन हुन्छ । निर्यात भएर अधिकांश छुर्पी युरोप र अमेरिका पुग्ने गरेको छ । ती मुलुकमा यसलाई कुकुर र बिरालोको खानाका रूपमा प्रयोग गर्छन् ।
नेपाल छुर्पी व्यवसायी संघका महासचिव ऋषि तिम्सिनाले नेपालमा उत्पादन हुने छुर्पीको ८० प्रतिशत हिस्सा कोशी प्रदेशले ओगटेको बताए । नेपालबाट निर्यात हुने प्रमुख उत्पादन छुर्पीको उत्पादन र व्यवसाय प्रवर्द्धनका लागि सरकारले ध्यान दिन नसकेको महासचिव तिम्सिनाले गुनासो गरे ।


