काठमाडौं । अमेरिका-भेनेजुएला तनावबारे नेपालले प्रतिक्रिया दिएको छ । बुधबार राति प्रेस विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले भेनेजुएलामा भइरहेका घटनालाई नजिकबाट नियालिरहेको जनाएको हो ।
विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको बडापत्रअनुसार राज्यहरूको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पूर्ण सम्मान आवश्यक रहेकोमा नेपालले जोड दिएको छ ।
साथै नेपालले सबै पक्षलाई संयमित हुन पनि आग्रह गरेको छ । ‘ सम्बन्धित सबै पक्षहरूलाई अधिकतम संयमता अपनाउन र तनावलाई बढ्न नदिन नेपाल आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
संयुक्त राष्ट्र संघको बडापत्रमा समावेश गरिएका राष्ट्रहरूको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रताको सिद्धान्तहरूको पूर्ण सम्मान गर्नुपर्नेमा पनि नेपालले जोड दिएको छ । संवाद, कूटनीति तथा आपसी समझदारीमार्फत शान्तिपूर्ण रूपमा विवाद समाधान गर्नुपर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अमेरिकी सेनाले भेनेजुएलाको राजधानी लगायतका शहरमा आक्रमण गरी त्यहाँका राष्ट्रपति दम्पत्तिलाई नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासत राखेपछि दुई देशबीच तनाव बढेको छ । विभिन्न मुलुकहरुले यस घटनालाई लिएर चासो र चिन्ता व्यक्त गरिरहेका छन् ।


