काठमाडौं । सुनको मूल्य निरन्तर बढ्दा मागमा कमी आएको छ । नेपालको बजारमा हालको महिनामा सुनको माग नबढ्नु र निरन्तर मुल्य वृद्धि गर्दाले सुनको मौज्दात बढेको छ ।
विवाह, व्रतबन्ध, पाश्नी लगायतका कार्यक्रममा पछिल्लो महिनामा नहुनु र मुल्य वृद्धिको कारणले गर्दा सुन खरिदकर्ताहरु घट्नुको कारण सुनको मौज्दान बैंक तथा वित्तीय संस्थामा पर्याप्त रहेको जनाकारहरु बताउँछन् ।
नेपाल बैंकर संघका अनुसार चालु आर्थिक वर्ष (आव) को पुस दोस्रो सातासम्म बैंकहरुमा १३५ किलोग्राम सुन मौज्दात रहेको छ । १७ वटा वाणिज्य बैंकहरु मध्ये ६ वटा बैंकमा उक्त परिमाणमा सुन मौज्दात रहेको संघले जनाएको छ ।
संघका अनुसार ६ वाणिज्य बैंक मध्ये सबैभन्दा बढी सुन कुमारी बैंकमा मौज्दात रहेको छ ।
संघका अनुसार पुसको दोस्रो सातासम्म कुमारी बैंकसँग ३०.५ किलोग्राम सुन मौज्दात रहेको छ । त्यस्तै दोस्रोमा एनआईसी एसिया बैंकसँग २६.५, किलोग्राम, माछापुच्छ्रे बैंकसँग १६.५ किलोग्राम र प्रभु बैंकसँग ९ किलोग्राम सुन मौज्दात रहेको छ । संघका अनुसार सानिमा बैंकसँग ३८ किलोग्राम र ग्लोबल आईएमई बैंकसँग १४.५ किलोग्राम सुन मौज्दात रहेको छ । कूल सुनको मौज्दात मध्ये बागमती प्रदेश भित्र ५५ किलोग्राम र ८० किलोग्राम अन्य प्रदेशमा रहेको छ ।
त्यसतै बैंकमा सुन मौज्दात पर्याप्त हुँदा आयातमा पनि कमी आएको संघका अधिकारीहरु बताउँछन् । मंसिरमा मात्र १ किलोग्राम सुनको आयात भएको छ । यो सँगै चालु आवमा ९०३ किलोग्राम सुनको आयात भइसकेको छ जसमा ९०२ किलोग्राम कार्तिक सम्मको आयात हो ।
चालु आवको साउनमा १०० केजी, भदौमा १०१ केजी, असोजमा ४०० केजी, कात्तिकमा ३०० केजी सुन आयात भएको तथ्यांक छ । मंसिरमा बिहेको सिजन भएका कारण नयाँ सुनका गरगहनाको माग उच्च हुन्छ । तर, यसपाली मंसिरमा नै नयाँ सुनको माग न्यून भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्यले बताए ।
चालु आवको पाँच महिनामा जम्मा ९०३ किलोग्राम सुन आयात भएको छ । जबकी गत आर्थिक वर्षको पाँच महिनामा ९ हजार ९७१ किलोग्राम सुन आयात भएको थियो ।
शाक्यले बजारमा पुरानै सुन रहेको र त्यसको कारोबार भइरहेकाले आयातमा कमी आएको बताए । शाक्यका अनुसार, कार्तिक महिनामा एक पटक ३०० किलो सुन आयात भएको थियो । उक्त मंसिरका लागि करिब पर्याप्त भयो । त्यसपछि व्यवसायीहरूले २०० किलो ग्राम सुन मगाएका थिए । उक्त सुनबाट करिब ५० किलोग्राम कारोबार भएको छ, बाँकी बैंकरूसँगै रिजर्ब रहेको अवस्था छ ।
पछिल्लो समय सुनको मूल्यमा भएको वृद्धिले गर्दा कारोबारमा गिरावट आएको शाक्य दाबी गर्छन् । ‘सुनको मुल्यवृद्धिका कारणले बजारमा पुरानै सुनको कारोबार भइरहेको छ । अहिले बजारमा नयाँ खरिदभन्दा पनि पुरानो सुन फिर्ता भइरहेको छ । सुन किन्ने भन्दा पनि बिक्री गर्नेहरू बढी रहेका छन् । नयाँ सुनको कारोबार बन्द जस्तै छ ’ उनले भने ।



