काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँको चन्द्रागिरीस्थित एक उद्योगबाट उत्पादित ठुलो परिमाणको न्यून गुणस्तरको (अखाद्य) दालमोठ नष्ट गरेको छ ।
विभागले चन्द्रागिरी नगरपालिका–१२ स्थित ’महालक्ष्मी दालमोठ उद्योग’ द्वारा उत्पादित करिब ५ लाख १९ हजार ६ सय रुपैयाँ बराबरको दालमोठ नष्ट गरेको हो ।
विभागले शुक्रबार एक प्रेस नोट जारी गर्दै स्थानीय जनप्रतिनिधिको रोहवरमा कुल २५९८ प्याकेट दालमोठ नष्ट गरिएको जानकारी दिएको छ ।
विभागका अनुसार मंसिर ५ गते उक्त उद्योगमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा उद्योगबाट सङ्कलन गरिएको दालमोठको नमुना प्रयोगशालामा परीक्षण गर्दा खाद्य पदार्थ ’न्यूनस्तर’ को पाइएको थियो ।
मानव स्वास्थ्यमा असर पर्ने गरी न्यून गुणस्तरको उत्पादन भेटिएपछि विभागले अर्को आदेश नभएसम्मका लागि उद्योगबाट हुने सम्पूर्ण बिक्री वितरण रोक्का राखी उत्पादन समेत बन्द गराएको थियो ।
ल्याब रिपोर्टमा कैफियत देखिएपछि विभागले मिति २०२५/११ मा उत्पादित ०३ ब्याच नम्बरको ’भालेश्वर ब्रान्ड’ को ६०० ग्रामको सबै मिक्स दालमोठ बजारबाट तत्काल फिर्ता गर्न गत पुस ११ मा आदेश जारी गरेको थियो ।
विभागको आदेशपछि उद्योगमा रोक्का राखिएको १०२ बोरा (प्रति बोरा २५ प्याकेट) र उद्योगले बजारबाट फिर्ता ल्याएको १ बोरा २३ प्याकेट गरी जम्मा १०३ बोरा र २३ प्याकेट दालमोठ नष्ट गरिएको विभागका प्रवक्ता डा. बाल कुमारी शर्माको भनाइ छ ।


