CLI

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं । बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको परिस्थितिसँगै युवाहरूमा अनुशासनहीनता बढेपछि नेपाली सेनाको व्यवस्थापनमा सञ्चालित राष्ट्रिय सेवा दल (एनसिसी) तालिम विस्तार गर्नुपर्ने आवाज उठेको छ । देश निर्माणमा जुट्नुपर्ने युवाशक्ति आन्दोलन र सङ्घर्षका नाममा राष्ट्रका महत्त्वपूर्ण सम्पदा र धरोहर तोडफोड तथा आगजनीमै उत्रिन थालेपछि यो तालिमको आवश्यकता महसुस गरिएको हो ।

विशेषगरी पछिल्लो समय ‘जेनजी’ आन्दोलनका नाममा सिंहदरबार, सर्वोच्च अदालत र सङ्घीय संसद् भवनजस्ता संवेदनशील क्षेत्रमा भएको तोडफोडको घटनाले युवालाई अनुशासित बनाउनुपर्ने चुनौती थपिएको छ । राष्ट्रिय सेवा दलका महानिर्देशक यामप्रसाद ढकालले नवयुवालाई अनुशासित, बफादार र नेतृत्व लिन सक्ने देशभक्त जनशक्ति बनाउन सेवा दल लागिपरेको बताए । ६ दशकदेखि सञ्चालित यो तालिमले युवालाई कुलतबाट जोगाएर सही मार्गमा ल्याउन भूमिका खेलेको सेनाको दाबी छ ।

सरकारले विसं २०२२ मा स्थापना गरेको सेवा दलले सुरुका वर्षमा ५ सय जनालाई तालिम दिने गरेकोमा अहिले वार्षिक ७ हजार ७ सय १० जना पुर्‍याएको छ । तर, मागको तुलनामा यो सङ्ख्या निकै कम हो । देशभरका एक हजारभन्दा बढी विद्यालयले तालिम माग गरे पनि सेवा दलले हाल २५७ वटा विद्यालयमा मात्र तालिम पुर्‍याउन सकेको छ । सरकारले यसलाई प्राथमिकतामा राखेर वार्षिक सङ्ख्या ११ हजार ५ सय पुर्‍याउनुपर्ने आवश्यकता औँल्याइएको छ । छिमेकी मुलुक भारतमा यस्तो तालिम वार्षिक २० लाख जनालाई दिइन्छ ।

सेवा दलले विद्यालयमा ७९ दिनको संस्थागत र २१ दिनको सामूहिक गरी कुल सय दिनको तालिम दिँदै आएको छ । मोरङ, महोत्तरी, नवलपरासी र बाँकेमा रहेका शिविरमा २१ दिने सामूहिक तालिम सञ्चालन हुन्छ । तालिममा सहभागी प्रतिविद्यार्थी यातायात, पोसाक र खानासमेत गरी ३५ हजार रुपैयाँ खर्च लाग्ने गरेको छ । तालिमका क्रममा अनुशासन, राष्ट्रियता, इतिहास, भूगोल, विपद् उद्धार र सैनिक कला सिकाइन्छ ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार स्थापनादेखि हालसम्म ८८ हजारभन्दा बढी युवाले यो तालिम लिइसकेका छन् । तालिम प्राप्त जनशक्ति बाढी, पहिरो र भूकम्पजस्ता विपद्मा उद्धारका लागि स्वतःस्फूर्त परिचालित हुने गरेका छन् । पूर्वप्रधानमन्त्री, उच्च सरकारी अधिकारी, राजदूतदेखि डाक्टर र इन्जिनियरसम्मले विगतमा यो तालिम लिएका छन् ।

वि।सं। २००८ सालमै तालिम लिएका डा। बद्रीराज पाण्डेले आपत्कालीन अवस्थामा राष्ट्र र समाजलाई सहयोग पुर्‍याउन यो तालिमले प्रेरित गर्ने बताए । उनले ‘चेन अफ कमान्ड’ र अनुशासनविना राज्य अघि बढ्न नसक्ने भन्दै तालिम विस्तारमा जोड दिए । यस वर्षको जुनियर डिभिजनको तालिम मंगलबार ९पुस २९० सकिँदै छ भने सिनियर डिभिजनको दीक्षान्त कवाज माघ २० गतेका लागि तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार