CLI

सोलु हाइड्रोपावरले मंगलबारदेखि आइपीओ बिक्री खुला गर्दै, आवेदन दिनुअघि कस्तो छ कम्पनी ? हेरौं 

काठमाडौं । सोलु हाइड्रोपावरले मंगलबार (पुस २९ गते)देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले ८२ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो । यस कम्पनीले २ अर्ब रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २ करोड कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

त्यसमध्ये, पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि १० लाख र आयोजना प्रभावित स्थानीयहरुलाई १ करोड कित्ता साधारण शेयर बिक्री गरिसकेको छ । यता, कम्पनीले सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कर्मचारीहरुका लागि ३ लाख कित्ता छुट्याएर बाँकी ८२ लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।

यो आइपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सकिनेछ ।

सर्वसाधारणका लागि जारी आइपीओको निष्कासन बन्द छिटोमा माघ ४ गते र ढिलोमा माघ १४ गते हुनेछ । यो आइपीओको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

कस्तो छ रेटिङको अवस्था ?

कम्पनीले इन्फोमेरिक्स क्रेडिट रेटिङ्गस नेपाल लिमिटेडबाट IRN BB + (IS) (Double B [ Issuer] ) ” प्रमाणपत्र प्राप्त गरेको छ । उक्त क्रेडिट रेटिङ्ग प्राप्त गर्ने संस्थालाई समयमा नै वित्तिय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छ । यस क्रेडिट रेटिङ्ग बहाल रहने मिति २०८३ असार १० गतेसम्म रहेको छ ।

कति कित्ताका लागि दिने आवेदन ?

सोलु हाइड्रोपावर लिमिटेडको आइपीओ पाउन सर्वसाधारणले भाग्यकै भर पर्नुपर्ने देखिएको छ । कम्पनीले ८२ लाख कित्ता सेयर बिक्री खुला गर्दैछ । यसमा ८ लाख २० हजार जनाले सेयर पाउनेछन् । तर, आवेदन भने ८ लाख भन्दा धेरै दिने देखिन्छ । यद्दपि, कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

आयोजना सम्बन्धी विवरण

सोलु हाइड्रोपावर लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापित भएको हो । यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला, का.म.न.पा.वडा. नं.२८, पुतलीसडक, त्रिवेणी कम्पलेक्स, काठमाडौंमा रहेको छ । यस कम्पनीको जलविद्युत उत्पादन केन्द्र सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा.नं.११ तिङ्गलामा रहेको छ ।

संगठित संस्थाको स्थापना कालदेखि हालसम्मको संक्षिप्त इतिहास र संगठित संस्थाको मुख्य उद्देश्यहरुः

सोलु हाइड्रोपावर २०६७ जेठ २६ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा एसेल–क्लिन सोलु हाइड्रोपावर प्राईभेट लिमिटेड नामबाट प्राइभेट कम्पनीको रुपमा दर्ता भएको थियो । पछि २०७२ चैत २ गते सोलु हाइड्रोपावर प्राईभेट लिमिटेडमा नाम परिवर्तन भई कारोबार संचालन गर्दै आएको थियो ।

साथै, २०७९ असोज २९ गते कम्पनी रजिष्ट्रारको कार्यालयको निर्णय अनुसार प्रा.लि. बाट परिवर्तन भई पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो । कम्पनीले तल्लो सोलु जलविद्युत आयोजना (८२ मेगावाट), उत्पादन तथा संचालन गर्न नेपाल सरकार, ऊर्जा मन्त्रालयबाट २०७० चैत ५ गते ८२ मे.वा विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त गरेको थियो । उक्त अनुमतिपत्र २०७८ पुस २१ गते भएको संशोधन अनुरुप २१०६ चैत ४ गतेसम्म बहाल रहनेछ ।

पुँजी संरचना र वित्तीय प्रक्षेपण

कम्पनीको जारी पुँजी १० अर्ब रुपैयाँ रहेको छ । कम्पनीको हालको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ रहेको छ । आइपीओ निष्कासनपछि संस्थापक सेयरधनीको हिस्सा ८० प्रतिशत र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको हिस्सा १० प्रतिशत र सर्वसाधारण समूहको हिस्सा १० प्रतिशत रहनेछ ।

कम्पनीले आर्थिक वर्ष २०८४–८५ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन । उक्त आवसम्म आइपीओ बिक्रीपछि कायम हुने १० अर्ब रुपैयाँ पुँजी नै यथावत् रहनेछ । चालु आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले ९५ करोड १३ लाख नाफा कमाउने प्रक्षेपण गरेको छ । आगामी वर्ष १ अर्ब २३ करोड नाफा कमाउने अनुमान छ । जगेडा कोषमा भने २ अर्ब ८३ करोड जम्मा हुने प्रक्षेपण छ । २०८४-८५ मा जगेडा कोष ५ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ ।

गत वर्षको असारसम्म कम्पनीले २७ करोड ११ लाख नाफा कमाएको छ । सञ्चित नाफा भने २ अर्ब ८३ करोड रहेको छ । चालु आवमा सोलुको १३७.८७ रुपैयाँ पुग्ने प्रक्षेपण छ । प्रतिसेयर आम्दानी भने ९.३० रुपैयाँ पुग्ने अनुमान छ ।

आइपीओ जारी गर्नुको उद्देश्य

कम्पनीले धितोपत्र निष्काशनबाट प्राप्त हुने रकमलाई लक्ष्मी सनराइज बैंकबाट लिएको कर्जा भुक्तानी गर्ने, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु, वैदेशिक रोजगारीमा रहेका नेपालीहरु तथा सर्वसाधारण नेपालीलाई कम्पनीको धितोपत्रमा लगानीको अवसर दिनका लागि सेयर जारी गर्ने भएको छ ।

कम्पनीको प्रति मेगावट लागत १९ करोड ८८ लाख रुपैयाँ छ । यसले सञ्चालन गरेको आयोजनाको क्षमता ८२ मेगावट रहेको छ । आयोजनाको कुल लागत १६ अर्ब ३० करोड रहेको छ ।

Leave Your Comment

Related News