काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री गगन थापाले नीतिगत अस्पष्टता र प्रशासनिक झन्झट सुधार गर्न नसक्दा देशभित्र पर्याप्त र सम्मानजनक रोजगारी सिर्जना हुन नसकेको बताएका छन् । उनले सोमबार नीतिगत अस्पष्टता र प्रशासनिक झन्झट सुधार गर्न नसक्दा देशभित्र पर्याप्त र सम्मानजनक रोजगारी सिर्जना हुन सकेन, जसका कारण ठूलो संख्यामा युवाशक्ति वैदेशिक श्रममा पलायन हुन बाध्य भएको बताए । अर्कोतर्फ, सहकारी, लघुवित्त तथा मिटरब्याजसम्बन्धी विकृत अभ्यासहरूले वित्तीय प्रणालीप्रति आम नागरिकको विश्वास गम्भीर रूपमा कमजोर बनाएको छ । यी समस्याले विशेषतः निम्न तथा मध्यम वर्गका नागरिकहरूको आर्थिक गतिविधि, सामाजिक स्थायित्व र समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको उनको भनाई छ ।
प्रविधि र ज्ञानमा आधारित अर्थतन्त्रलाई प्रोत्साहन गर्दै ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने अवसर हुँदाहुँदै पनि त्यसलाई उपयोग गर्न हामी अहिलेसम्म चुकेका छौं, जुन अवस्थाको गम्भीर आत्मसमीक्षा र नीतिगत सुधार अपरिहार्य भइसकेको छ । यस अवस्थाबाट बाहिर निस्कन अबको प्रमुख आवश्यकता रेमिट्यान्स निर्भरतामा क्रमशः कमी ल्याउँदै उत्पादन, कृषि, उद्योग, ऊर्जा, पर्यटन तथा प्रविधिमा आधारित समावेशी र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्नु नै हो , उनले भने ।
थापाले अघि भने, ‘वि.सं. २०७२ सालमा संविधान जारी गर्दा नेपाल भूकम्प र अघोषित नाकाबन्दी जस्ता असाधारण संकटको अवस्थामा थियो। उक्त संकटपछिको कालखण्डमा अर्थतन्त्रलाई पुनः निर्माण, उत्पादनमुखी र आत्मनिर्भर दिशामा तीव्र रूपमा अघि बढाउनुपर्ने ऐतिहासिक अवसर थियो । तर, नीतिगत कमजोरीसहितको अन्योल, कार्यान्वयन क्षमताको अभाव र निरन्तर राजनीतिक अस्थिरताका कारण अपेक्षित आर्थिक रूपान्तरण हासिल हुन सकेन । यही संरचनागत कमजोरीको पृष्ठभूमिमा कोभिड – १९ महामारीको प्रहारले राष्ट्रिय अर्थतन्त्रलाई गम्भीर रूपमा क्षतिग्रस्त बनायो । पछिल्ला करिब २५ वर्षदेखि नेपालको अर्थतन्त्र अत्यधिक रूपमा रेमिट्यान्समा निर्भर रहँदै आएको छ ।’


