CLI

पाँच वर्षिय वित्तीय क्षेत्र विकास रणनीति स्वीकृति, यस्ता छन् मन्त्रिपरिषद्ले गरेका ६ निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले सोमबार ६ वटा महत्त्वपूर्ण निर्णय गरेको छ। सोमबार बसेको बैठकले पाँच वर्षीय वित्तीय क्षेत्र विकास रणनीति स्वीकृतिका साथै राष्ट्रिय सभाको अधिवेशन आह्वानसम्मका निर्णय गरेको हो।

बैठकले संघीय संसद्को राष्ट्रिय सभाको अधिवेशन संवत् २०८२ साल माघ ४ गते बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू यस प्रकार छन्–

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदानबापत २ लाख ८३ हजार ५०३ अमेरिकी डलर उपलब्ध गराउने स्वीकृति दिने।

वित्तीय क्षेत्र विकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ स्वीकृत गर्ने।

२०२५ मार्चमा आएको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगोडाको अभिलेखालय तथा गंगाघाट मन्दिरको पुनर्निर्माणका लागि ३ लाख ५० हजार अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने।

मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने।

गोरखापत्र संस्थानको अध्यक्ष पदमा भक्तपुर निवासी श्री गोविन्द प्रसाद भण्डारीलाई नियुक्त गर्ने।

संवत् २०८२ साल माघ ४ गते बिहान ११ बजे संघीय संसद्को राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।

 

 

Leave Your Comment

Related News