पर्वत । मोदी गाउँपालिका–६ तिलाहारको ठानागाउँमा ‘एक घर एक धारा’ निर्माण गरिएको छ । सो गाउँमा खानेपानीको चरम अभाव रहँदै आएको थियो । बस्तीभन्दा करिव एक घण्टा तल रहेका रतीखोला र मोदीखोलाबाट पानी ल्याउनु पर्दथ्यो । ठानागाउँमा सञ्चालित ठाना खानेपानी तथा सरसफाइ परियोजनाबाट धारा निर्माण गरिएको हो । यहाँ ८२ घरपरिवार छन् ।
उक्त आयोजनाबाट ७८ व्यक्तिगत धारा र चारवटा सामुदायिक धारा जडान गरिएको छ । आयोजनाबाट प्रतिदिन ३८ हजार ७८९ लिटर पानी आपूर्ति गर्न सकिने भएको छ । बस्तीभन्दा माथि साढे दुई किलोमिटर दूरीमा रहेको कमल स्वारामा रहेको मुहानबाट जिआई र प्लास्टिक पाइप गरी एक फिल्टर र एक वितरण ट्याङ्कीमार्फत घरघरमा पानी वितरण गरिएको छ ।
खानेपानी अभावका कारण स्थानीयवासीहरुको बसाइँसराइ बढ्दै गएको र गाउँमा बस्नेहरुले पनि सास्ती खेप्नु परेको खबर पाएपछि खानेपानी आयोजना सञ्चालन गर्नका लागि आर्थिक सहयोग गरिएको युनिका फाउन्डेसन दी नेदरल्यान्डका कार्यकारी प्रमुख रमेशराज पौडेलले बताए ।


