CLI

सूचीकृत हुने हाइड्रोपावर कम्पनीहरुको संख्या १६ गुणाले बढ्यो, लाभांश दिनेको संख्यामा भने ७ गुणा वृद्धि, कुन वर्ष कतिले दिए ?

काठमाडौं । पछिल्लो १ दशकमा नेप्सेमा सूचीकृत हुने हाइड्रोपावर कम्पनीहरुको संख्यामा व्यापक वृद्धि देखिएको छ । १० वर्ष अगाडि अर्थात, २०७१-७२ मा नेप्सेमा सूचिकृत हाइड्रोपावरको संख्या ६ वटा थियो । चालु आवको पुस मसान्तसम्म आइपुग्दा यो संख्या ९८ पुगेको छ । यस आधारमा पछिल्लो १ दशकमा सूचीकृत हुने जलविद्युत कम्पनीहरुको संख्या १६.३३ गुणाले बढेको छ ।

गत वर्ष अर्थात, २०८१-८२ मा नेप्सेमा ९१ वटा हाइड्रोपावर कम्पनी सूचीकृत थिए । यस्ता कम्पनीको संख्यामा व्यापक वृद्धि देखिएपनि लाभांश दिने कम्पनीहरुको संख्यामा भने खासै राम्रो सुधार देखिएको छैन । २०७१-७२ मा ३ वटा हाइड्रोपावर कम्पनीले लाभांश दिएका थिए । यता, गत वर्षको नाफाबाट लाभांश दिने कम्पनीहरु जम्मा २२ वटा रहेका छन् ।

जबकी, गत वर्षसम्म ९१ वटा कम्पनी दोस्रो बजारमा प्रवेश गरिसकेका थिए । तथ्यांक अनुसार सञ्चालनमा रहेकामध्ये २२ हाइड्रोपावरले गत वर्ष (२०८१-८२) को नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेका छन् ।

आव २०८०-८१ मा २१ हाइड्रापवर कम्पनीहरुले लाभांश दिने घोषणा गरेका थिए । त्यस्तै, २०७९-८० र २०७८-७९ मा १७ वटा, २०७७-७८ मा १२ वटा, २०७६-७७ मा १३ वटा, २०७५-७६ मा ८ वटा, २०७४-७५ ना ७ वटा, २०७३-७४ मा ८ वटा र २०७२-७३ मा ५ वटा र २०७१-७२ मा भने ३ वटा हाइड्रोपावर कम्पनीले मात्र लाभांश दिएका थिए ।

१० वर्ष अगाडि दोस्रो बजारमा हाइड्रोपावर कम्पनीको उपस्थिति खासै थिएन । अहिले भने अत्यधिक बढेको छ ।  तर, लाभांश दिनेको संख्यामा वृद्धि छैन । सूचीकृत कम्पनीको संख्या १६ गुणाले बढ्नुको मुख्य कारण उद्योगको तीव्र विस्तार र लगानीको आकर्षण हो ।

नेपालमा हाइड्रोपावर क्षेत्रमा निजी लगानीको वृद्धि, सरकारले ल्याएको प्रोत्साहक नीति, पीपीए सम्झौता जस्ता सुविधा, तथा लगानीकर्तामा उत्साहले धेरै नयाँ कम्पनीहरुलाई सेयर बजारमा आउन उत्प्रेरित गरेको छ ।

आइपीओ मार्फत पुँजी जुटाउने सजिलो प्रक्रिया, र सरकारी तथा नीतिगत सहुलियतले पनि नयाँ कम्पनीहरुको सूचीकरणलाई सहज बनाएको छ । यसले गर्दा बजारमा नयाँ कम्पनीहरुको संख्या तीव्र रुपमा बढेको हो ।

तर, लाभांश दिने कम्पनीको संख्या केवल ७ गुणाले मात्र बढ्नुको कारण फरक छ । सबै नयाँ कम्पनीले तुरुन्तै नाफा कमाउन सक्दैनन् । हाइड्रोपावर परियोजनाहरुको निर्माण, स्रोतको व्यवस्थापन र उत्पादन प्रक्रियामा समय लाग्ने भएकाले शुरुवाती चरणमा अधिकांश कम्पनीहरुको वित्तीय स्थिति स्थिर हुँदैन ।

त्यसैले लाभांश वितरणमा ढिलाइ हुन्छ । साथै, केही कम्पनीहरुले आफ्नो नाफा पुनः लगानी गरेर प्रोजेक्ट विस्तार गर्ने रणनीति अपनाएका छन्, जसका कारण लाभांश वितरण तुरुन्त भएन ।  जसले गर्दा नयाँ कम्पनीहरुले लाभांश वितरणमा समय लिन्छन् ।

Leave Your Comment

Related News