काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईका अध्यक्षतामा विराटनगरस्थित होटल हैरिसन प्यालेसमा १८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
सभामा कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत,उप–प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापनका पदाधिकारी, सेयरधनीहरू तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो । सभाले कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बद्ध अनुसूचीहरू छलफल गरी सर्वसम्मतिले पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को लागि प्रस्तावित १३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) पारित गरेको छ । साथै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक वर्ष २०८१÷८२ मा भएका खर्चहरूलाई अनुमोदन गरेको छ।
कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले साधारणसभालाई सम्बोधन गर्दै कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजनाहरू र नवीनतम सेवा लगाएत डिजिटल रूपान्तरणमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कम्पनीको निरन्तर प्रगतिको श्रेय सेयरधनीहरूको विश्वास, ग्राहकहरूको साथ, अभिकर्ताहरुको मेहनत र कर्मचारीहरूको लगन भएको बताए ।
साधारणसभाका दौरान, सेयरधनीहरूले कम्पनी प्रतिको आफ्नो विश्वास र आगामी दिनका लागि अपेक्षाहरू राखेका थिए । सभामा प्रस्तुत भएका सबै प्रस्तावहरू सर्वसम्मतिबाट पारित गरिएका छन । कम्पनीले आफ्नो सेवा गुणस्तरलाई अझ परिस्कृत र परिमार्जित गर्दै ग्राहकहरूको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता जनाएको छ । नेपालकै पहिलो ९००१ २०१५ आई, एस.ओ. प्रमाणित सूर्यज्योति लाइफको हाल चुक्ता पूजी ५०१ करोड, जीवन बीमाकोष ४,३८३ करोड, लगानी ४,८४५ करोड, नेटवर्थ ६७४ करोड, १ लाख ६ हजार अभिकर्ता संख्या, ३५ लाख ८७ हजार बीमालेख संख्या र देशै भरि रहेका १७६ शाखा संजाल मार्फत आफ्ना बिमितहरुलाई कम्पनीले सेवा प्रदान गरिरहेको छ।
साथै कम्पनीले नेपालकै सर्वाधिक ३५ घातक रोगहरु बिरुद्ध ५० लाखसम्मको आर्थिक सुरक्षा प्रदान गरिरहेको छ।


