गण्डकी। पोखरा महानगरपालिकाले कर छुटको सुविधा चैत मसान्तसम्म कायम रहने गरी समयावधि विस्तार गरेको छ । महानगरको १८औँ नगरसभाले पुस मसान्तसम्मका लागि तोकिएको कर छुटको म्याद राजस्व सङ्कलन प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण चैत मसान्तसम्म बढाउने निर्णय गरेको हो ।
महानगरको आर्थिक ऐन अनुसार चालु आर्थिक वर्षमा पुस मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने व्यवस्था थियो । तर राजस्व सङ्कलन प्रणालीमा समस्या आएपछि कर तिर्न आएका सेवाग्राहीहरू फर्किनुपर्ने अवस्था सिर्जना भएको महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले जानकारी दिए । सेवाग्राहीले चाहेर पनि प्रणालीकै समस्याका कारण समयमै कर तिर्न नसकेको अवस्था आएपछि कर छुटको समयावधि थप्नुपरेको उनको भनाइ छ ।
यसअघि प्रणालीमा देखिएको समस्याका कारण करदाताहरू मर्कामा परेको भन्दै कर छुटको अवधि बढाउन वडा नं. १३ का वडाध्यक्ष किरण बरालले महानगरपालिकामा ध्यानाकर्षणपत्र बुझाएका थिए । नगरसभाको निर्णयसँगै अब करदाताले चैत मसान्तसम्म कर बुझाउँदा १० प्रतिशत छुटको सुविधा लिन सक्ने भएका छन् ।


