काठमाडौं । म ‘टाइमहोल्डर’ मिडियाकर्मी!
समकालीन राजनीतिबारे एकछिन आम मानिस भएर म आफैंलाई हेरौं??
राजनीति र आफैंबारे केहि भनौं?
भन्न दिनुहुन्छ भने मसँग पाँच तर्क छन्।
तर्क एक!
मैंले बिहानको खाना खाएँ। आज चाहिँ आफैंले पकाएँ। भातसहित दाल, काउली, गोलभेडाको अचार!! पकाउने तालिका संधै मेरो होइन। तर आमा-बा, श्रीमती, छोराछोरी कतै व्यस्त थिए कि!
मलाई खानु थियो, मैंले उनीहरूसहितलाई पकाएं। केलाइकुलाइको पूर्ण व्यवस्थापन गरें। आफुले खाएको थाल धोएँ। सबैलाई राख्दिएँ। आएर खान्छन् नै। मलाई आफ्नो आधारभूत काम आफैंलाई गर्न मन पर्छ।
तर्क दुई!
म हतार-हतार कार्यालय आएको छु। मलाई आज एक सानदार राजनीतिक समाचार दिने मन छ। यस मिडियामा म राजनीतिक सन्दर्भ हेर्छु। त्यसो त अफिसमा आउँदा मात्रै होइन, हिंड्दा, बस्दा, घर पुग्दा, सुत्दा र उठ्दा समेत मेरा मानसपटलमा राजनीतिका घटना-प्रवृत्तिमात्रै गुन्जायामान भएर आउँछन्। मलाई मेरो देश मजबुत लोकतान्त्रिक प्रणाली, समाज न्याय र समृद्धिमा अगाडि बढोस् भन्ने लागिरहन्छ।
तर्क तीन,
रातिसम्मै कांग्रेसको विशेष महाधिवेशनमा थिएँ। त्यहाँ गगन थापा सर्वसम्मत सभापति हुने निश्चित थियो। अगाडि कांग्रेस कार्यालय सानेपामा थिएं, त्याहाँ गगन-विश्वप्रकाश शर्मालाई निष्कासन गरेको निर्णय प्रचार प्रमुख मीन विश्वकर्माले सुनाउदै थिए। चन्द्र भण्डारीसहित भएर रामहरि खतिवडा बीचैमा निस्किए, उनीहरू विशेष महाधिवेशनतिर गए कि गएनन्? म पछिपछि लागिन।
तर किन-किन सानेपा थोत्रो भएको र भृकुटीमण्डप पुन:निर्माण भएको जस्तो अनुभूति मलाई भयो।
तर्क चार,
यता काठमाडौंका लोकप्रिय सुमन सायमी पक्षधरसँग नेपाली कम्युनिष्ट पार्टीको एकता हुँदै रहेछ। त्यसो त नेकपाले २० भन्दा बढी कम्युनिष्ट, वामपन्थी र जनपक्षीयसँग एकता गरिसकेको छ। माओवादी जनयुद्धको मुल उद्देश्य-अपेक्षा बोकेको यो पक्षसँग समाजका हरेक समुदाय-राष्ट्रिय प्रवृत्तिहरू एकाकार बनेका छन्। यसलाई जोगाउने चुनौती भनेको नयाँ आधारको गति, नीति, कार्यक्रम र प्रवृत्ति निर्माण नै हो।
कमसेकम फम्फा भुसाल, भीम रावल वा नारायणकाजी श्रेष्ठ वा यस्तै व्यक्तित्वलाई राजकीय वा पार्टी नेतृत्वमा अगाडि सार्न सके यस(नेकपा)ले आफुलाई सावित गर्नसक्छ भन्ने मलाई लाग्यो।
तर्क पाँच,
राजनीतिमा युवाहरूको सचेतना वा प्रवेश, सम्बन्धित देशको मजबुतिको आधार हो। तर भदौ २३ को आक्रोश र भदौ २४ को आगजनीले मुलुकलाई कयौं शिक्षा दिएको छ। हरेक पार्टीले युवालाई त समेट्नैपर्छ। काठमाडौं महानगर प्रमुख बालेन साहले त्यो पद छाडेर एमाले अध्यक्ष केपी ओलीसँग भिड्न झापा जाँदैगरेको समाचार गर्दैछु।
त्यही पार्टीका अध्यक्ष रवि लामिछानेले सम्पत्ति शुद्धिकरण र संगठित अपराधमा उन्मुक्ति पाएको समाचार पनि गर्दैछु। र, सुदन गुरुङ भनिने सुशीला सरकारलाई च्यालेन्ज दिइरहेको पनि बुझ्दैछु। तर यी त युवा होइनन्। हामीले युवालाई चिन्नुपर्छ। र, तिनलाई छुट्याउनु पनि पर्छ। तिनमा बिचार-सिद्धान्त हुनु र लुट-अराजकता हुनु एउटै तथा उस्तै होइन।


