CLI

नेप्सेका कर्मचारीले पाउने बोनस रकम आधा भन्दा धेरैले घट्यो, कति पाए ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीहरुले पछिल्ला वर्षहरुमा पाउने बोनस रकममा उल्लेख्य गिरावट आएको देखिएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा नेप्सेका कर्मचारीहरुले जम्मा २ करोड ४३ लाख रुपैयाँ बोनस प्राप्त गरेका छन् । यो रकम अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पाएको १ करोड ३२ लाख रुपैयाँको तुलनामा केही वृद्धि भए पनि त्यसअघिका वर्षहरुको तुलनामा उल्लेखनीय रुपमा कम हो ।

आर्थिक वर्ष २०७९/८० मा नेप्सेका कर्मचारीहरुले ५ करोड २३ लाख रुपैयाँ बोनस पाएका थिए भने २०७८/७९ मा यो रकम ८ करोड ८२ लाख रुपैयाँ पुगेको थियो । ४ वर्षको अवधिमा बोनस रकममा आएको उतारचढाव नेप्सेको नाफा, कारोबार अवस्था तथा बोनस वितरण नीतिमा आएको परिवर्तनले हो ।

बोनस ऐन, २०३० तथा बोनस नियमावली, २०३९ को नियम ६ अनुसार आयकर व्यवस्था अधिको खुद नाफाको १ प्रतिशत रकम बोनसका लागि छुट्याई खर्च लेख्ने व्यवस्था छ । अर्थ मन्त्रालयको निर्देशनअनुसार नेप्सेले हालसम्म यही १ प्रतिशत बोनस व्यवस्था लागू गर्दै आएको छ।

तर बोनस दरको विषयमा कानुनी विवाद पनि चलिरहेको छ। श्रम अदालतले गत असार ५ गते नेप्सेमा ५ प्रतिशत बोनस व्यवस्था लागू गर्नुपर्ने फैसला सुनाएको थियो। तर उक्त फैसलाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कात्तिक ३० गते श्रम अदालतको फैसला कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। त्यसपछि नेप्सेले १ प्रतिशत बोनस व्यवस्था नै कायम राखेको छ।

बोनस रकममा आएको गिरावटले कर्मचारीहरुको मनोबलमा असर पर्ने चिन्ता व्यक्त गरिएको छ। यद्यपि, नेप्से व्यवस्थापनले कानुनी प्रक्रिया टुंगो नलागेसम्म विद्यमान व्यवस्था अनुसार नै बोनस वितरण गरिने बताउँदै आएको छ।  कम्पनीले गत वर्ष कर तिर्नु अघि २ अर्ब ४६ करोड आम्दानी गरेको छ । अघिल्लो वर्ष उक्त आम्दानी १ अर्ब ३२ करोड थियो ।

यता, आर्थिक वर्ष २०८१-८२ मा नेप्सेले १ अर्ब ८० करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोह अवधिको तुलनामा ७८ प्रतिशत धेरै हो । गत वर्ष यस कम्पनीले १ अर्ब १ करोड ३७ लाख नाफा आर्जन गरेको थियो । नेप्सेको धितोपत्र कारोबारबाट २ अर्ब ७४ करोड ३ लाख आम्दानी गरेको छ । यो आम्दानी गत वर्ष १ अर्ब ५ करोड थियो । साथै, संगठीत सदस्यलाई दिएको सेवाबाट हुने आम्दानी १४ करोड ७२ लाखबाट घटेर ९ करोड ९४ लाख रुपैयाँ कायम भएको छ ।

धितोपत्र कारोबारबाट हुने आम्दानी बढेसँगै नाफामा सुधार आएको हो । नेप्सेको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ भने सञ्चति मुनाफा २ अर्ब १७ करोड रुपैयाँ रहेको छ । यता, अन्य पुँजी तथा कोषमा भने ४ अर्ब ८९ करोड जम्मा छ । यसको प्रतिसेयर आम्दानी १००.३७ रुपैयाँबाट बढेर १८०.२६ रुपैयाँ पुगेको छ ।

Leave Your Comment

Related News