काठमाडौं । अर्थतन्त्र चलयमान नहुदाँ बैंक तथा वित्तीय संस्थालाई गैर बैंकिङ सम्पत्ति टाउको दुखाईको विषय बनेको छ । अझै घरजग्गामा लगानी गरेका बैंक तथा वित्तीय संस्था पछिल्लो समय समस्या परेका छन् । बैंक तथा वित्तीय संस्थाले गैर बैंकिङ सम्पत्ति सर्कान नसक्दा समस्या भएको बैंकरहरु बताउछन् ।
यसैबीच नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको गैरबैकिङ सम्पत्तिमा अत्याधिक बढेको बताएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पाँच महिना (असार देखि मंसिरमसान्त) मा बैंक तथा वित्तीय संस्थाहरुको गैर बैंकिङ सम्पत्ति ५१ अर्ब १ करोड ५० लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३२.२० प्रतिशत अर्थात् १२ अर्ब ४२ करोड ७० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको पाँच महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको गैरबैंकिङ सम्पत्ति ३८ अर्ब ५८ करोड ८० लाख रुपैयाँ रहेको थियो ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले घरजग्गामा प्रवाह गरेको कर्जा उठ्न नसक्दा ती संस्थाहरुमा गैरबैंकिङ सम्पत्ति बढ्न पुगेको विज्ञहरु बताउछन् । विज्ञहरुका अनुसार सरकार तथा राष्ट्र बैंकलाई घरजग्गा अनुत्पादक क्षेत्र रहेको र लगानी गर्न सुझाव दिदाँ अटेर गरेको परिणामा स्वरुप गैरबैंकिङ सम्पत्ति हरेक बैंक तथा वित्तीय संस्थाहरुमा थुप्रिन पुगेको हो । बैंकहरुको निष्क्रिय कर्जामा वृद्धि देखिए सँगै गैरबैंकिङ सम्पत्ति समेत बढेको विज्ञहरु बताउँछन् ।
बैंक तथा वित्तीय संस्थामा गैरबैंकिङ सम्पत्ति बढ्दै जाँदा यसको समस्यमा ऋणहरु परेको देखिन्छ । पछिल्लो समय बैंकहरूको धितोको मूल्य घट्दै जाँदा मूल्यांकनकर्तालाई कालोसूचीमा समेत राख्न थालिएको छ । बैंकहरूले नेपाल राष्ट्र बैंकको निर्देशिका देखाएर कालोसूचीमा राख्न थालेको बताए। कोभिड अगाडि र पछाडिको मूल्यांकनमा दुई तिहाइ नपुगे मूल्यांकनकर्ताहरूलाई कालोसूचीमा राख्ने गरेको हो ।
धितोको मूल्य बढेको समयमा भएको मूल्यांकन र अहिले कारोबार कम हुँदा भएको मूल्यांकनको विषयलाई लिएर बैंकहरूले मूल्यांकनकर्तालाई कालोसूचीमा राख्न नहुने नेपाल भ्यालुयर्स (मूल्यांकनकर्ता) एसोसिएसनले जनाएको छ ।
चालु आवको पाँच महिनामा सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति आर्जन गर्नेमा वाणिज्य र्बैंक, विकास बैंक र वित्त कम्पनी रहेका छन्, यसो हुनमा भने उनीहरुको चुक्ता पूँजीको आकारले गर्दा पनि हो । चालु आर्थिक वर्षको पाँच महिनामा वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति ४३ अर्ब ५ करोड १० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनमा गैरबैंकिङ सम्पत्ति १० अर्ब ३९ करोड ५९ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति ३२ अर्ब ६५ करोड ५० लाख रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको पाँच महिनामा विकास बैंकको गैरबैंकिङ सम्पत्ति ४ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १ अर्ब २२ करोड २० लाख रुपैयाँले गैरबैंकिङ सम्पत्ति बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकको गैरबैंकिङ सम्पत्ति ३ अर्ब ६५ करोड ८० लाख रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको पाँच महिनामा वित्त कम्पनीहरुको गैरबैंकिङ सम्पत्ति ३ अर्ब ८ करोड ४० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा गैरबैंकिङ सम्पत्ति ८१ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुको गैरबैंकिङ सम्पत्ति २ अर्ब २७ करोड ४० लाख रुपैयाँ रहेको थियो ।
बैंक तथा वित्तीय संस्थाहरूले नउठेको कर्जाको धितो लिलामी बिक्री नभएमा आफैंले सकार्नु पर्ने वाध्यताका कारण गैरबैकिङ सम्पत्ति बढेको हो । सकारेपछि यस्तो सम्पत्ति सकेसम्म चाँडै बिक्री गर्नुपर्ने नियम रहेको छ भने त्यसो गर्न नसकेको अवस्था अहिलेका बैंक तथा वित्तीय संस्थामाथि रहेको छ । अर्कोतर्फ गैर–बैंकिङ सम्पत्ति सकार गरेकै समयबाट बैंकहरूले यसको जोखिमबाट बच्न शत प्रतिशत बराबर रकम प्रावधानमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।


