मस्को । युक्रेन, संयुक्त राज्य अमेरिका र रुसका उच्चस्तरीय अधिकारीहरू शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) मा सुरक्षा वार्ता गर्न भेट्ने भएका छन् । क्रेमलिनका अनुसार, यो भेटघाट मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शीर्ष अमेरिकी वार्ताकारहरूको छलफलपछि हुन लागेको हो, जसले युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकी पहललाई अगाडि बढाउने उद्देश्य राखेको छ । दोस्रो विश्वयुद्धपछि युरोपमा देखिएको सबैभन्दा घातक द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासले पछिल्ला महिनाहरूमा तीव्रता पाएको छ ।
तर युद्धपछिको सम्भावित सम्झौतामा भूभागसम्बन्धी प्रमुख विषयमा मस्को र किएभबीच अझै गहिरो मतभेद कायम छ । क्रेमलिनका अनुसार दूत स्टिभ विटकफको नेतृत्वमा अमेरिकी वार्ताकारहरूले शुक्रबार बिहान मस्कोमा राष्ट्रपति पुटिनसँग वार्ता गरेका थिए । क्रेमलिनका कूटनीतिक सल्लाहकार युरी उसाकोभले पत्रकारहरूसँग कुरा गर्दै ती छलफल ‘हरेक हिसाबले उपयोगी’ भएको बताए । विटकफ र अमेरिकी टोली त्यसपछि अबुधाबीका लागि प्रस्थान गरेका छन्, जहाँ वार्ता निरन्तर रहने अपेक्षा गरिएको छ ।
रुसको जिआरयू सैन्य गुप्तचर एजेन्सीका निर्देशक जनरल इगोर कोस्त्युकोभको नेतृत्वमा रुसी प्रतिनिधिमण्डल पनि ‘आउँदो केही घण्टामै’ अबुधाबी पुग्ने उसाकोभले जानकारी दिए । उनका अनुसार सुरक्षा मामिलासम्बन्धी त्रिपक्षीय कार्य समूहको पहिलो बैठक आज अबुधाबीमा हुने सहमति भएको छ । उसाकोभले रुस राजनीतिक र कूटनीतिक माध्यमबाट द्वन्द्व समाधान गर्न इच्छुक रहेको उल्लेख गर्दै, तर त्यस्तो समाधान नहुँदासम्म आफ्ना उद्देश्य युद्धको मैदानमै हासिल गर्न प्रयास जारी रहने चेतावनी पनि दिए ।
यसअघि विटकफले दुवै पक्ष ‘एक मुख्य मुद्दासम्म नजिक पुगेको’ विश्वास व्यक्त गरेका थिए यद्यपि विस्तृत जानकारी दिएको थिएन । क्रेमलिनद्वारा सार्वजनिक भिडियोमा राष्ट्रपति पुटिनले मुस्कुराउँदै विटकफ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर र ह्वाइट हाउसका सल्लाहकार जोश ग्रुएनबामसँग हात मिलाइरहेको दृश्य देखाइएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सम्झौताको मस्यौदा ‘लगभग तयार’ भइसकेको र आफू तथा राष्ट्रपति ट्रम्पबीच युद्धपछिको सुरक्षा ग्यारेन्टीका विषयमा सहमति भएको बताउनुभएको केही घण्टापछि यो उच्चस्तरीय भेटघाट भएको हो । उनका अनुसार बेलायत र फ्रान्सले पहिले नै भूमिमा सेना तैनाथ गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।
अबुधाबीमा हुने वार्तामा युक्रेनको प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का सचिव रुस्तम उमरोभले गर्नुहुनेछ । प्रतिनिधिमण्डलमा युक्रेनी सशस्त्र बलका चिफ अफ स्टाफ लेफ्टिनेन्ट जनरल एन्ड्री ग्नाटोभ पनि सहभागी हुनुहुनेछ । हाल रुसले युक्रेनको करिब २० प्रतिशत भूभाग ओगटेको छ र सम्झौताका सर्तका रूपमा पूर्वी डोनबास क्षेत्रमा पूर्ण नियन्त्रणको दबाब दिइरहेको छ । तर किएभले मस्कोलाई प्रोत्साहन हुने खालको सम्झौता अस्वीकार्य हुने र रुसलाई नयाँ आक्रमणबाट रोक्न असफल शान्ति सम्झौतामा हस्ताक्षर नगर्ने स्पष्ट पारेको छ ।
संयुक्त अरब इमिरेट्समा हुने वार्ताको विस्तृत कार्यसूची अहिलेसम्म सार्वजनिक गरिएको छैन र रुसी तथा युक्रेनी अधिकारीहरू प्रत्यक्ष रूपमा आमनेसामने भेट्नेछन् कि भेट्ने छैनन् भन्ने विषय पनि अझै स्पष्ट छैन । राष्ट्रपति जेलेन्स्कीका अनुसार यी वार्ताहरू दुई दिनसम्म सञ्चालन हुनेछन् । यसैबीच, राष्ट्रपति ट्रम्पले बुधबार पुनः पुटिन र जेलेन्स्की सम्झौताको नजिक पुगेको आफ्नो विश्वास दोहोर्याएको थियो ।
डाभोसमा भाषणपछि उनले दुवै पक्ष सम्झौतामा नआए ‘मूर्ख ठहरिने’ टिप्पणी गर्नुभएको थियो । डाभोसमा आफ्नो सम्बोधनका क्रममा राष्ट्रपति जेलेन्स्कीले पुटिनको सामना गर्न युरोपेली सङ्घ (इयु) मा आवश्यक ‘राजनीतिक इच्छाशक्ति’ को कमी रहेको कडा आलोचना गरेका छन्। उनका शब्दमा, युरोप विश्वव्यापी शक्ति बन्नुको सट्टा ‘खण्डित साना र मध्यम शक्तिहरूको समूह’ जस्तै देखिएको छ । यस हप्ता भएको रुसी आक्रमणले किएभको ठूलो भाग अन्धकारमा डुबेको छ । उप–शून्य तापक्रममा करिब चार हजार भवनका बासिन्दा तापविहीन भएका छन् । रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई सैन्य लक्ष्य भन्दै आक्रमण गरेको दाबी गरे पनि किएभले ती हमलालाई नागरिक जनसङ्ख्यालाई कमजोर पार्ने उद्देश्यले गरिएको युद्ध अपराधको संज्ञा दिएको छ ।


