CLI

रास्वपाको समर्थन महावीर पुनलाई

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका महावीर पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार युवराज रोकाले समर्थन गरेका छन् ।

पुनले बेनीको वीरेन्द्र चोकमा आयोजना गरेको पत्रकार सम्मेलनमा पुगेर रोकाले पार्टीको निर्देशन र शुभेच्छुकहरूको सुझावअनुसार महावीर पुनलाई सघाउने निर्णय गरेको जानकारी दिए ।

‘हामीले महावीर सरलाई फोन गर्दा कुरा गर्नै नचाहने, फोन उठाएर पनि त्यत्तिकै राखिदिने गर्नुभयो, अर्कोतर्फ उम्मेदवारी फिर्ता लिएर समर्थन गर्न दबाब आइरहेको थियो,’ रोकाले भने, ‘हिजो ढिलाइका कारण आधिकारिक रुपमा प्रत्यक्षतर्फ महावीर सरलाई सघाएर आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गर्दछु ।’

करिब एक घण्टासम्म आफ्नो धारणा राखिरहेका महावीर पुन बोल्दै गर्दा रोकालाई मञ्चमा बोलाएर तत्काल समर्थन घोषणा गराउने तयारी गरिएको थियो। तर पुनले ‘कति आत्तिएको ? एकछिन पख न’ भन्दै रोकालाई कुराए । अन्त्यमा ‘के हो ? कुरा लौ आउ भन’ भन्दै मञ्चमा बोलाए।

रोकाले आफ्नो भनाइ राख्दा पुन बेवास्ता गरिरहेजस्तो देखिन्थे। समर्थकहरूले हात मिलाउन आग्रह गरेपछि पुनले ‘बल्ल बुद्धि आएछ’ भन्दै प्रतिक्रिया दिए। त्यसपछि उनी मुस्कुराए र सहभागीलाई हँसाए ।

यसअघि स्वतन्त्र उम्मेदवार बनेका बेनीका नवीन जिसीले उम्मेदवारी फिर्ता लिएर शुक्रबार महावीर पुनलाई समर्थन गर्ने घोषणा गरेका थिए।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तोकिएको शुक्रबार बिहान १० देखि १ बजेसम्मको समय सीमाभित्र जिसीको मात्र उम्मेदवारी फिर्ता भएको सहायक निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले जानकारी दिए।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता छन् । जिल्लामा ८२ मतदान स्थल र १२० मतदान केन्द्र तोकिएका छन् ।

Leave Your Comment

Related News