CLI

नाफासँगै बढ्यो माछापुच्छ्रे बैंकको प्रतिसेयर आम्दानी, अन्य सूचक कस्ता ? 

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नाफामा सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा २५.२५ प्रतिशतले नाफा बढेको हो ।

बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा १ अर्ब १ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.२५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८० करोड ७३ रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेको र गैर सञ्चालन खर्च घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.१६ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २२.१२ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ८.८४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०.२२ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज बढेर ५७ करोड ४२ लाख रुपैयाँ पुगेसँगै सञ्चालन मुनाफा घट्न पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ६३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ २२ पैसा रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ८४ पैसा बढेर १६ रुपैयाँ ७३ पैसा पुगेको छ । पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ६० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.६१ गुणा रहेको छ । १२ अर्ब ८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ९८ करोड रुपैयाँ सञ्चित छ । बैंकले पुस मसान्तसम्ममा २ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

Leave Your Comment

Related News