CLI

सोमबारदेखि आइपीओ बिक्री खुला गरेको भुजुङ हाइड्रोपावर कस्तो छ ?

काठमाडौं । भुजुङ हाइड्रोपावर लिमिटेडले सोमबार, माघ १२ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरेको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात, २० करोड रुपैयाँ बराबरको १०० अंकित दरको २० लाख कित्ता साधारण सेयर बिक्रीका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई निष्कासन गरेर सेयर बाँडफाँट भइसकेको छ ।

बाँकी १० लाख कित्ता सेयरमध्ये नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि १ लाख कित्ता सेयर बिक्री भइसकेको छ । त्यस्तै, कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि २० हजार कित्ता, तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सामूहिक लगानी कोषहरुलाई ५० हजार कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको ८ लाख ३० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिएको हो ।

यो निष्कासन बन्द छिटोमा माघ १५ गते हुनेछ भने ढिलोमा माघ २६ गते हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

कस्तो छ रेटिङको अवस्था ?

ईका नेपाल लिमिटेडले यसलाई “[ICRANP-IR] B+ (Pronounced ICRANP Issuer Rating B Plus ) ” रेटिङ्ग प्रदान गरेको छ । “[ICRANP-IR] B+ ” ले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम (High Risk of Default Regarding Timely Servicing of Financial Obligations) रहेको भन्ने जनाउँदछ । रेटिङ्गको ग्रेड २०८३ असार ५ गतेसम्म बहाल रहनेछ ।

कति कित्ताका लागि दिने आवेदन ?

भुजुङ हाइड्रोपावर लिमिटेडको पाउन लगानीकर्ताले भाग्यकै भर पर्नुपर्ने देखिएको छ । कम्पनीले सर्वसाधारणका लागि ८ लाख ३० हजार कित्ता मात्र सेयर निष्कासन गरेको छ । यसआधारमा भुजुङ हाइड्रोपावरको आइपीओ न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा ८३ हजार जनाले मात्र सेयर हात पार्नेछन् ।

यसआधारमा हेर्ने हो भने यो आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । यद्दपि, कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

आयोजना सम्बन्धी विवरण

भुजुङ हाइड्रोपावर लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम २०७२ साल जेठ २१ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेडको रुपमा दर्ता भएको हो । पछि २०७८ फागुन १ गते पब्लिक लिमिटेडको रुपमा परिणत भएको हो । यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं. १०, सामाखुशीमा रहेको छ । भुजुङ हाइड्रोपावर लिमिटेडको आयोजना स्थल, जलविद्युत उत्पादन केन्द्र तथा अन्य भौतिक पूर्वाधारहरु लमजुङ्ग जिल्ला, क्व्होलासोथार गाउँपालिकामा (साबिकको भुजुङ गा.विस.) वडा नं. ४, मा रहेको छ ।

 

संगठित संस्थाको स्थापनाकालदेखि हालसम्मको संक्षिप्त इतिहास र संगठित संस्थाको मुख्य उद्देश्यहरुः

जलविद्युत आयोजनाको विकास, निर्माण र संचालन गर्ने मुख्य उद्देश्यका साथ कम्पनी ऐन, २०६३ बमोजिम २०७२ जेठ २ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा भुजुङ हाइड्रोपावर प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो । पछि २०७८ फागुन १ गतेबाट भुजुङ हाइड्रोपावर लिमिटेडमा परिणत गरी कम्पनी रजिष्ट्रारको कार्यालयबाट मिति २०७९ साउन १० गते कारोबार सञ्चालन गर्ने अनुमति प्राप्त गरी कारोबार गर्दै आएको छ ।

कम्पनीमा हाल १९६३ जना संस्थापक सेयरधनीहरु रहेका छन् । कम्पनीले स्थापना भए पश्चात्लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिका (साविकको भुजुङ गा.वि.स.) मा अवस्थित मिदिम खोलाको पानी उपयोग गरी ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजनाको सर्वेक्षण गर्न लागेको छ ।

जसका लागि विद्युत ऐन, २०४९ बमोजिम विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी सो आयोजनाको निमार्ण तथा संचालनको लागि सो ऐनमा व्यवस्था भए अनुसार २०७६ भदौ २६ गते नेपाल सरकार, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत विद्युत विकास विभागबाट विद्युत उत्पादनको अनुमतिपत्र (वि.वि.वि.२०७६÷७७ वि.उ. २७२) प्राप्त गरेको थियो ।

२०७६ असोज १ गतेदेखि आयोजनाको निर्माण कार्य शुरु गरेको हो । साथै उक्त अनुमतिपत्रको बहाल रहने अवधि मिति २०७६ भदौ २६ गतेदेखि २१११ भदौ २५ गतेसम्म (३५ वर्ष) रहेको छ । यसको २०८१ वैशाख ०६ गतेबाट पूर्ण रुपमा व्यापारिक उत्पादन शुरु गरी संचालनमा रहेको छ । आयोजनाको लागत १ अर्ब ८० करोड ५८ लाख रुपैयाँ रहेको छ । यसले सञ्चालन गरेको आयोजनाको लागत प्रतिमेगावट २४ करोड ९० लाख छ ।

धितोपत्र निष्काशन सम्बन्धी विवरणः

धितोपत्र जारी गर्नुको उद्देश्य यस कम्पनीको प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम जारी पुँजीको २० प्रतिशत अर्थात २० करोड बराबरको २० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र (प्रत्यक्ष प्रभावित र अप्रत्यक्ष प्रभावित) का स्थानीय बासिन्दाहरुका लागि, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र सर्वसाधारणहरुको लागि बिक्री वितरण गरी कम्पनीको जारी पुँजी १ अर्ब रुपैयाँ पुर्याउने रहेको छ ।

साथै, कम्पनीको वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पुँजीको व्यवस्था गर्न, प्रबन्धपत्रमा तोकिए बमोजिमको पुँजी संरचना कायम गर्न र आयोजना प्रभावित क्षेत्र (प्रत्यक्ष प्रभावित र अप्रत्यक्ष प्रभावित) का स्थानीय बासिन्दाहरुका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री गरी स्थानीय बासिन्दाहरुलाई लगानीको अवसर दिन, बैकबाट लिईएको कर्जा भुक्तानी गर्न र कम्पनीले भुक्तान गर्न बाँकि अन्य दायित्व भुक्तान गर्नका लागि सेयर जारी गरेको जनाएको छ ।

वित्तीय अवस्था

कम्पनीको अधिकृत पुँजी र जारी पुँजी १ अर्ब रुपैयाँ रहेको छ । यसको हालको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । कम्पनीले आर्थिक वर्ष २०८४–८५ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन । उक्त आवसम्म आइपीओ बिक्रीपछि कायम हुने १ अर्ब रुपैयाँ पुँजी नै यथावत् रहनेछ ।

गत आर्थिक वर्षमा कम्पनीले ५ करोड ७ लाख रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले गत वर्ष १३ करोड २६ लाख रुपैयाँ बराबरको विद्युत बिक्रीबाट आम्दानी गरेको थियो । आर्थिक वर्ष २०८२-८३ को अन्त्यसम्ममा कम्पनीको नाफा ३ करोड २८ लाख रुपैयाँ पुग्ने पक्षेपण छ । त्यस्तै, २०८३—८४ मा ६ करोड ९० लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ ।

 

आइपीओ निष्कासनपछि संस्थापक सेयरधनीको हिस्सा ८० प्रतिशत र सर्वसाधारण समूहको हिस्सा २० प्रतिशत रहनेछ । कम्पनीको अध्यक्ष डा खगेन्द्र प्रसाद ओझा रहेका छन् ।

आयोजनाका तस्विरहरुः

 

Leave Your Comment

Related News