काठमाडौं । सहकारी बिटमा पत्रकारिता गर्ने सञ्चारकर्मीहरुको हित प्रवद्र्धन तथा वृत्ति विकास गर्नका लागि स्थापना भएको नेपाल सहकारी पत्रकार समाज (सीजेएन)मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । सीजेएनको सम्पन्न भएको १५ औं वार्षिक साधारण सभाले अर्जुन खतिवडाको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
नवनिर्वाचित संस्थाको उपाध्यक्षमा नमिता दुलाल, सचिवमा माधव खड्का, सह–सचिवमा हिरा बस्नेत र कोषाध्यक्षमा प्रविण राउत चयन भएका छन् । यसैगरी नवगठित कार्यसमिति सदस्यमा इश्वर ढुङ्गेल र श्रीराम दाहाल चयन भएकाछन् ।
नवनिर्वाचित अध्यक्ष खतिवडा यस अघिको कार्यसमितिमा उपाध्यक्ष, उपाध्यक्ष दुलाल सदस्य र सचिव खड्का कोषाध्यक्षको जिम्मेवारीमा रहेका थिए । नवनिर्वाचित कार्यसमितिलाई प्रमुख निर्वाचन अधिकृत अधिवक्ता बिष्णु गिरीले प्रमाणपत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । सो अवसरमा निर्वाचन समितिका अधिकृतद्वय राजेन्द्रसिंह नेगी र शिवराज योगीको समेत उपस्थिति रहेको थियो ।
सीजेएनका अध्यक्ष काजी श्रेष्ठको सभापतित्वमा सम्पन्न सभामा सीजेएनका संस्थापक अध्यक्ष यादव हुमागाई, पूर्व अध्यक्ष डिल्ली सापकोटा र पूर्व अध्यक्ष खिला दाहालको आतिथ्य रहेको थियो । यसअघि संस्थाका सचिव सन्तोष रोकायायले संचालन गरेको वार्षिक साधारण सभाले अध्यक्ष काजी श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष माधव खड्काले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो ।
यसैबीच नव निर्वाचित कार्यसमितिले आजै पदभार ग्रहण गरेको छ । जिम्मेवारी हस्तान्तरण कार्यक्रममा निवर्तमान कार्यसमितिका अध्यक्ष काजी श्रेष्ठ, सचिव सन्तोष रोकाया, सह–सचिव सुधा देवकोटा र सदस्य बलराम बुढाथोकीको उपस्थिति रहेको थियो ।


