गण्डकी । गण्डकी प्रदेशमा नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि छ स्थानीय तह छनोट भएका छन् । नवलपुरको देवचुली नगरपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, गोरखाको सहिद लखन गाउँपालिका, गोरखा नगरपालिका, तनहुँको म्याग्दे र ऋषिङ गाउँपालिका, लमजुङको बेँसीसहर नगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिका छनोटमा परेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
उक्त कार्यक्रमका लागि विभिन्न स्थानीय तहबाट २९ वटा प्रस्ताव पेस भएकामा प्रदेश छनोट तथा सिफारिस समितिले मूल्याङ्कन गरी आठवटा परियोजना प्रस्ताव स्वीकृत भएको कार्यालयका उपसचिव पार्वती लामिछानेले जानकारी दिए ।
नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि सङ्घीय ससर्ततर्फको चार करोड १० लाख बजेट विनियोजन भएको उनले बताए । “नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालन कार्यविधिअनुसार स्थानीय तहले अनुदान प्राप्त गर्छन्, बढीमा ३० प्रतिशत स्थानीय तहको साझेदारी रहन्छ”, उपसचिव लामिछानेले भने ।
नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत देवचुली नगरपालिकामा कृषक पाठशाला परियोजना, पुतलीबजार नगरपालिकामा मुस्लिम समुदाय लक्षित उद्यम विकास तथा व्यवसाय प्रवद्र्धन परियोजना र सहिद लखन गाउँपालिकामा मनकामना फोहरमैला व्यवस्थापन परियोजना सञ्चालन हुने भएको छ ।
यसैगरी, म्याग्दे गाउँपालिकामा बालबालिकाको शैक्षिक विकास, घरपझोङ गाउँपालिकामा फोहर सङ्कलन तथा व्यवस्थापन केन्द्र, बेँसीसहर नगरपालिकामा मौरीजन्य उत्पादन प्रवद्र्धन, ऋषिङ गाउँपालिकामा मौरी उद्योग र गोरखा नगरपालिकामा मटका घरबास ‘होमस्टे’ परियोजना अगाडि बढाइने भएको हो ।
प्रदेश तथा स्थानीय शासन सबलीकरण परियोजनाअन्तर्गत सञ्चालित यस कार्यक्रमबाट प्रदेश तथा स्थानीय तहलाई सक्षम र उत्तरदायी बनाउन सहयोग पु¥याउने लक्ष्य छ । यस वर्ष प्रदेशका १५ वटा स्थानीय तह छनोट भई परियोजना कार्यान्वयनको चरणमा छ ।


