काठमाडौं । प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोश्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा नाफा घटेको हो ।
बैंकले चालू आर्थिक वर्ष (आव) को पुस मसान्तसम्म १ अर्ब १ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोहि अवधिको तुलनामा २४ प्रतिशतले कम हो । बैंकले गत आवको पुस मसान्तसम्म १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा नाफा घटेपनि बैंकको खुद ब्याज आम्दानी भने बढेको छ । गत आवको दोस्रो त्रैमाससम्म ४ अर्ब ८६ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवको दोस्रो त्रैमाससम्म ४ अर्ब ९८ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न बैंक सफल भएको छ ।
यता बैंकको कुल सञ्चालन आम्दानीमा पनि वृद्धि भएको देखिएको छ भने त्यसको बाबजूद बैंकको सञ्चालन नाफा भने घट्न पुगको वित्तीय विवरणले देखाएको छ। बैंकले गत आवको पुस मसान्तसम्म ६ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेकोमा चालू आवको पुस मसान्तसम्म त्यस्तो आम्दानी बढेर ६ अर्ब ६९ करोड ६४ लाख रुपैयाँ पुगेको छ । तथापि बैंकको सञ्चालन नाफा भने २ अर्ब ५२ करोड २८ लाख रुपैयाँबाट घटेर १ अर्ब ९६ करोड ८३ लाख रुपैयाँमा झरको छ ।
नाफामा गिरावट आएसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि गिरावट देखिएको छ। गत आवको पुस मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी ११.३५ रुपैयाँ रहेकोमा चालू आवको पुस मसान्तसम्म घटेर ८.६२ रुपैयाँमा झरेको छ । यसै अवधिमा बैंकको निष्क्रिय कर्जा (एनपीएल) भने ५.०६ प्रतिशतबाट बढेर ७.९४ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४६.१७ रुपैयाँ रहको छ ।
प्रभु बैंक लिमिटेडको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ। पुस मसान्तसम्म यस बैंकको रिजर्भ कोषमा १४ अर्ब २२ करोड ७० लाख रुपैयाँ सञ्चित रहेको छ भने जगेडा कोषमा ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । पुस मसान्तसम्म आइपुग्दा यस बैंकले ग्राहकहरूलाई २ खर्ब २७ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवा गरी ३ खर्ब ४० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ ।


