काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । बैंकले र्सावजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिसकम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार साढे ६ प्रतिशतले नाफा बढेको हो ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी सामान्य घटेपनि सञ्चालन मुनाफा बढेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.७४ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४.६९ प्रतिशत र सञ्चालन मुनाफा १.७२ प्रतिशत बढेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने घटेर २ अर्ब ४२ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ। बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७३ पैसा रहेको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ४ पैसा बढेर १७ रुपैयाँ ६ पैसा पुगेको छ । पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.२४ गुणा रहेको छ ।
३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २८ अर्ब ६९ करोड रुपैयाँ सञ्चित छ। बैंकले पुस मसान्तसम्ममा ६ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।


