काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३० अर्ब ५९ करोड नाफा कमाएका छन् । यो नाफा गत वर्षको तुलनामा ११.५१ प्रतिशत धेरै हो । गत वर्षको पुस मसान्तसम्म बैंकहरुले २७ अर्ब ४३ करोड नाफा कमाएका थिए । खुद ब्याज आम्दानी ९२ अर्ब ६० करोडबाट बढेर ९६ अर्ब ५ करोड पुगेको छ ।
यता, केही बैंकहरुको इम्पेयरमेन्ट चार्ज घटेको छ । त्यसैले नाफामा पनि सुधार आएको हो । बैंकहरुको एनपीएल औसत ४.४९ प्रतिशतबाट बढेर ५.०८ प्रतिशत पुगेको छ । ३ खर्ब ९९ अर्ब २९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकहरुको जगेडा कोषमा ३ खर्ब ७३ अर्ब रुपैयाँ जम्मा रहेको छ ।
चुक्ता पुँजी र जगेडा कोष
२० वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी ग्लोबल आइएमई बैंकको रहेको छ । यसको पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ छ । त्यस्तै, नबिल बैंकको ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ बराबरको पुँजी रहेको छ । समग्रमा बैंकहरुको चुक्ता पुँजी ३ खर्ब ९९ अर्ब २९ करोड पुगेको छ ।
तथ्यांक अनुसार ८ वटाको पुँजी २० अर्ब भन्दा धेरै छ । यता, सबैभन्दा धेरै जगेडा कोष हुनेमा राष्ट्रिय वाणिज्य बैंक अगाडि परेको छ । यसको उक्त कोषमा ३८ अर्ब ६५ करोड छ । नेपाल इन्भेष्टमेन्ट मेगाको जगेडामा ३५ अर्ब ९६ करोड, नबिल बैंकको भने जगेडामा ३३ अर्ब ४२ करोड रुपैयाँ जम्मा रहेको छ । २० वटा बैंकहरुको जगेडा कोषमा ३ खर्ब ७३ अर्ब १ करोड रुपैयाँ जम्मा रहेको छ ।

खुद ब्याज आम्दानी
सबैभन्दा धेरै खुद ब्याज आम्दानी गर्नेमा नबिल बैंक अगाडि छ । यसले ६ महिनामा ८ अर्ब ८ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २.४२ प्रतिशत धेरै हो । त्यस्तै, ग्लोबल आइएमईले ८ अर्ब २ करोड ब्याज आम्दानी गरेको छ । समग्रमा बैंकहरुले ९६ अर्ब ६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।

नाफा
नबिल बैंकले ४ अर्ब ७५ करोड नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४६.७१ प्रतिशत धेरै हो । नबिलले गत वर्षको पुससम्म ३ अर्ब २४ करोड नाफा कमाएको थियो । समग्रमा बैंकहरुले ३० अर्ब ५९ करोड नाफा कमाएका छन् ।

प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ
नबिल बैकको प्रतिसेयर आम्दानी ३५.०४ रुपैयाँ छ । यसको प्रतिसेयर नेटवर्थ भने २३५.६४ रुपैयाँ छ । एभरेष्टको इपीएस ३०.८६ रुपैयाँ छ भने नेटवर्थ २३५.१५ रुपैयाँ छ । १४ वटा बैंको प्रतिसेयर आम्दानी १० रुपैयाँ भन्दा धेरै छ ।

एनपीएल
सबै भन्दा कम एनपीएल एभरेष्ट बैंकको छ । यसको एनपीएल ०.६८ प्रतिशत छ भने स्टान्डर्ड चार्टर्डको १.८८ प्रतिशत छ । एनआइसी एसिया, नेपाल इन्भेष्टमेन्ट मेगाको, प्रभु र हिमालयन बैंकको एनपीएल ७ प्रतिशत भन्दा धेरै छ ।



