काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले फागुन ११ गतेका लागि ३० औँ साधारणसभा बोलाएको हो ।
उक्त सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुने छ । उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको नाफा नोक्सान हिसाबबाट चुक्ता पुँजीको १२.७८९४ प्रतिशत नगद लाभांश (कर सहित) र ३ प्रतिशत अर्थात् १०० कित्ता बराबर ३ कित्ताका दरले बोनस सेयर वितरणको प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सो सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने गत आवको वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षण प्रतिवेदन सहित सम्पूर्ण वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ । कम्पनी ऐनको दफा १११ बमोजिम चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ २५ गते एक दिन सेयर दाखिल खारेज बन्द (बूक क्लोज) गर्ने जनाएको छ । तसर्थ बूक क्लोजको आधारमा माघ २४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनी मात्रै सो सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।


