काठमाडौं । इन्डोनेसिया स्टक एक्सचेन्ज (IDX) का प्रमुख कार्यकारी अधिकृत (CEO) इमान राचमानले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । पछिल्ला दुई दिनमा इन्डोनेसियाको सेयर बजारमा आएको भारी गिरावटले बजार पुँजीकरण ८४ अर्ब अमेरिकी डलर घटेको थियो । उक्त रकम बराबरको क्षति भएपछि उनले जिम्मेवारी लिँदै पद त्याग गरेका हुन् ।
मोर्गन स्ट्यान्ली क्यापिटल इन्टरनेशनल (एमएससीआई) ले इन्डोनेसियालाई ‘उदीयमान बजार’ (Emerging Market) बाट ‘फ्रन्टियर बजार’ (Frontier Market) मा डाउनग्रेड गर्न सकिने चेतावनी दिएपछि बजारमा ठूलो गिरावट आएको थियो। एमएससीआईले सेयर कारोबारको पारदर्शिता र मूल्य निर्धारण प्रक्रियामाथि गम्भीर चिन्ता व्यक्त गरेको थियो।
इन्डोनेसियन स्टक एक्सचेन्जले जारी गरेको विज्ञप्तिमा राचमानले “हालको बजार अवस्थाको जिम्मेवारी लिँदै” राजीनामा दिएको उल्लेख गरिएको छ, तर विस्तृत कारण भने खुलाइएको छैन ।
रोयटर्सका अनुसार आयोजित पत्रकार सम्मेलनमा राचमानले भने, “मलाई आशा छ, मेरो राजीनामाले पूँजी बजारका लागि सकारात्मक सुधार ल्याउनेछ। आज बजार सकारात्मक रूपमा खुलेको छ, आगामी दिनमा अझ सुधार आउने अपेक्षा गर्दछु।”
एमएससीआईले मंगलबार सार्वजनिक गरेको चेतावनीमा सेयर स्वामित्व संरचनाको अस्पष्टता र सम्भावित समन्वित कारोबारले मूल्य निर्धारणमा असर पारेको उल्लेख गरेको थियो।
बुधबार जाकार्ता कम्पोजिट सूचकांक ७.३५ प्रतिशतले घटेको थियो भने बिहीबार थप १.०६ प्रतिशतले ओरालो लागेको थियो। तर शुक्रबार सूचकांक १ प्रतिशत भन्दा धेरैले बढेको छ।
एमएससीआईको चिन्तालाई सम्बोधन गर्दै इन्डोनेसियाको वित्तीय नियामक निकायले बिहीबार सूचीकृत कम्पनीहरूको न्यूनतम ‘फ्री फ्लोट’ आवश्यकतालाई दोब्बर गर्दै १५ प्रतिशत पुर्याउने निर्णय गरेको छ।
यसअघि बुधबार IDX ले जारी गरेको विज्ञप्तिमा एमएससीआईको सुझावलाई पूँजी बजारको विश्वसनीयता बढाउने प्रयासको महत्वपूर्ण हिस्सा भएको बताउँदै इन्डोनेसियाली सेयरको एमएससीआई सूचकांकमा तौल बढाउन प्रतिबद्ध रहेको जनाएको थियो।


