कास्की । पोखरामा सञ्चालन भएको छैठौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि न्यू डायमण्ड स्पोर्ट्स क्लबले जितेको छ ।
पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आज सम्पन्न फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले उपाधि जितेको हो । न्यू डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्यो ।उपाधिसँगै न्यू डायमण्डले रु छ लाख ६६ हजार ६६६ हात पार्यो । उपविजेता बनेको पुलिसले रु तीन लाख ६६ हजार ६६६ प्राप्त गर्यो । महिलातर्फ थाइल्याण्ड क्विन्स तृतीय हुन सफल भयो । थाइल्याण्ड क्विन्सले रु दुई लाख छ हजार ६६६ पुरस्कार पायो ।
प्रतियोगितामा न्यू डायमण्डकी सुमित्रा रेग्मी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले रु २६ हजार ६६६ प्राप्त गरिन् । उत्कृष्ट सर्भर प्रतिभा माली, लिविरो शान्तिकला तामाङ, सेटर प्रगति नाथ, ब्लकर सुनिता खत्री, स्पाइकर पथैया र प्रशिक्षक कुमार राई विधागततर्फ उत्कृष्ट बने । उनीहरुले जनही रु ११ हजार ६६६ प्राप्त गरे । अघिल्लो संस्करणमा महिलातर्फको उपाधि आयोजक टोली टाइगर ग्रुपले जितेको थियो । प्रतियोगितामा पुरुषतर्फ समूह चरणको अन्तिम खेल पर्वत जिल्ला भलिबल संघ र गण्डकी प्रदेशबीच खेल हुँदैछ । उक्त खेलले फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यही माघ ९ गतेदेखि जारी च्याम्पियनसिपमा पुरुषतर्फ छ र महिलातर्फ पाँच टोली सहभागी भएका थिए ।


