खोटाङ। खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ । गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रबद्धन कार्यक्रम’ अन्तर्गत विनियोजन गरिएको एक लाख रुपैयाँ बजेटबाट यसवर्ष ११ मुरी तिते फापर उत्पादन भएको हो ।
गाउँपालिकाको लगानीमा उत्पादन गरिएको औषधीय गुण भएको तिते फापर बिक्रीका लागि प्रतिकिलो ९० रुपैयाँ भाउ निर्धारण गरिएको गाउँपालिका अध्यक्ष अरुणादेवी राईले जानकारी दिनुभयो । तिते फापर लोप हुँदै गएको हुँदा पालिकाले रैथाने बाली प्रबद्धन कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको उहाँले बताउनुभयो । गाउँपालिकाले वडा–४ भञ्ज्याङखर्कमा सरकारी तथा पर्ती जग्गामा तिते फापर लगाएको थियो ।
तिते फापरखेतीका लागि जमिन खनजोत गर्न, बीउ छर्न, उत्पादित फापर काट्ने र उठाउने काममा पारिश्रमिक दिएर कामदार लगाइएको गाउँपालिकाका कृषि विकास शाखा प्रमुख काजोल कुश्माले जानकारी दिनुभयो । जन्तेढुङ्गा गाउँपालिकाले यसअघि बाँझो जमिन उपयोग गरेर छ हजार किलो आलु उत्पादन गरेको थियो ।


